उपसभामुख राउतद्वारा पाँच सांसद पद रिक्त निर्णय बदर

राजविराज । मधेश प्रदेशसभाका उपसभामुख बबिता कुमारी राउत इशरले सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सदस्यहरूको पद रिक्त घोषणा गर्दै जारी गरेको सूचना बदर गरेकी छन् ।
उनले उक्त कदम कानुनी प्रक्रिया उल्लंघन गर्दै आवेगमा लिइएको निर्णय भएको स्पष्ट गर्दै अर्को सूचना सार्वजनिक गरेकी हुन् । प्रदेशसभा सचिवालयले मिति २०८२/०७/२७ गते पाँच सांसदको पद रिक्त घोषणा गर्दै सूचना जारी गरेको थियो । तर सोही दिन सभामुखविरुद्ध प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १८०(२)(क) अनुसार ‘पद अनुकूल आचरण नगरेको’ प्रस्ताव उपसभामुखसमक्ष दर्ता भइसकेको उपसभामुख राउतले उल्लेख गरेकी छन् ।

नियमअनुसार प्रस्तावमाथि छलफलका लागि मिति र समय तोकिने प्रक्रिया बाँकी नै रहेको बेला प्रतिशोधपूर्वक र जिम्मेवारीहीन तरिकाले पद रिक्त घोषणा गरिएको उनको आरोप छ । यसबाहेक, २०७५ को नियमावलीअनुसार पद रिक्त घोषणा तीन चरणीय प्रक्रियाबाट गर्नुपर्ने व्यवस्था छ, तर सभामुखले त्यो विधि उल्लंघन गरेको उपसभामुखको सूचनामा उल्लेख छ ।

विश्वासको मत सम्बन्धी २०८२/०७/२२ को बैठकमा पद रिक्त घोषणा गरिएका सबै सांसदहरू उपस्थित रहेको हाजिरी दर्ता तथा बैठकको भिडियोबाट पुष्टि भएपछि, सभामुखले गरेको निर्णय स्वतः अवैध सावित भएको राउतले बताइन् । उपसभामुख राउतले जारी गरेको सूचनामा पाँचै सांसदहरूको पद रिक्त घोषणा बदर गरिएको र यसबारे सबै सरोकारवालालाई जानकारी गराइएको स्पष्ट गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस