बालेनको जनकपुर घोषणाः ‘अधिकार माग्न काठमाडौँ होइन, मधेश आफैँ सक्षम हुनुपर्छ’

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका निवर्तमान मेयर बालेन्द्र शाहले काठमाडौँलाई “अधिकार माग्न जाने होइन, घुम्ने शहर” भन्दै मधेशले आफ्नै अधिकार आफ्नै क्षेत्रमा सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित विशाल सभामा सम्बोधन गर्दै उनलेे वर्षौंदेखि अधिकार पाउन नसकेको र प्रदेश सरकारले प्रमुख प्रशासकीय अधिकृतसमेत स्वतन्त्र रूपमा नियुक्त गर्न नसक्ने अवस्था रहेको बताए। उनले वर्तमान संघीय प्रणालीमा अधिकार कार्यान्वयनमा चुनौती रहेको र सुधार आवश्यक भएको पनि औँल्याए।

समाजवादको आफ्नो व्याख्या प्रस्तुत गर्दै शाहले काठमाडौँमा मेयर हुँदा २० हजारभन्दा बढी विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराएको र १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गरिएको उदाहरण प्रस्तुत गरे। साथै, मन्दिर, पोखरी र सार्वजनिक सम्पदाको संरक्षणमा गरेका कामको चर्चा गर्दै जनकपुरमा पनि पोखरी संरक्षण अभियान रास्वपाले अघि बढाउने प्रतिबद्धता जनाए।

राजीनामा दिएर पहिलोपटक यति ठूलो सभामा बोलिरहेको उल्लेख गर्दै शाहले आफू अब देशका लागि काम गर्न तयार रहेको बताए। “मलाई काम गर्ने जिम्मा दिनुहुन्छ?” भन्दै उनले प्रत्यक्ष प्रश्नसमेत गरे। मिथिलाको भूमि सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पूरै देशमा १० लाख पर्यटक आए पनि जनकपुरले एक्लैले त्यो धान्न सक्ने दाबी गरे।

शाहले मधेशकै छोरा प्रधानमन्त्री बन्ने समय आएको भन्दै आगामी निर्वाचनमा रास्वपाको चुनाव चिह्नमा भोट दिन आग्रह गरे।

Author:



क्याटोगरी छान्‍नुहोस