राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबीसिंह यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएकी हुन्। उम्मेदवारी दर्ताका क्रममा जसपा नेपालका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय डा. यादव स्वास्थ्य, महिला सशक्तीकरण र सामाजिक न्यायका मुद्दामा लामो समयदेखि क्रियाशील रहँदै आएकी नेतृ हुन्। उनी मधेशका अनुभवी नेता मृगेन्द्रकुमार सिंहकी छोरी तथा मधेशी एकता समाजका केन्द्रीय अध्यक्ष रवीन्द्रकुमार यादवकी धर्मपत्नी हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै डा. यादवले मधेशको समग्र विकास, शिक्षा–स्वास्थ्यको पहुँच विस्तार, महिला र युवाको सहभागिता बढाउने तथा जनताको अधिकार र पहिचानको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले जसपा नेपालको नीतिअनुसार संघीयता, समावेशिता र सामाजिक न्यायका एजेन्डालाई प्रतिनिधिसभामा प्रभावकारी रूपमा उठाउने बताइन्।