काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा प्रेस काउन्सिल नेपालमा १६३ वटा उजुरी दर्ता भएका छन् ।
काउन्सिलका अनुसार पुस महिनासम्म दर्ता भएका ती उजुरीहरू पत्रकार आचारसंहितासँग सम्बन्धित रहेका छन् । दर्ता उजुरीमध्ये प्रक्रिया पूरा गरी ७७ वटा खण्डन प्रकाशन गराइएको छ भने ५२ वटा उजुरीमा पेश भएका जवाफ सम्बन्धित उजुरीकर्तालाई जानकारी गराइएको छ । यस्तै, १४ वटा उजुरीमा क्षमायाचना तथा भूलसुधार गराइएको सह–प्रवक्ता रामशरण बोहराले जानकारी दिएका छन् ।
उजुरीका आधारमा पाँच वटा सामग्री स्थगन गरिएको छ, १० सञ्चारमाध्यमसँग स्पष्टीकरण मागिएको छ र पाँच वटालाई निर्देशन तथा सचेत गराइएको छ । यस अवधिमा एक सञ्चारमाध्यमलाई अवज्ञाकारी ठहर गर्दै ‘ब्ल्याक लिस्ट’ मा राखी कारबाहीसमेत गरिएको काउन्सिलले जनाएको छ ।
स्वअनुगमनअन्तर्गत ६३२ वटा मिडिया, वेबपोर्टल तथा सामाजिक सञ्जालका ७४४ सामग्रीको अनुगमन गरिएको थियो । जसमध्ये ४४७ मिडिया र १८५ गैरमिडियाका सामग्री रहेका छन् । आचारसंहिता उल्लङ्घनको गम्भीरताका आधारमा १३६ मिडिया र २७ गैरमिडियालाई निर्देशन तथा सचेत गराइएको छ । सम्पर्कमा नआएका २० गैरमिडियाका सम्बन्धमा अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।
निर्वाचन आचारसंहिता लागू भएको सन्दर्भमा काउन्सिलले विशेष अनुगमन सुरु गरेको छ । निर्वाचनको समयमा आधारहीन, अप्रमाणित, मिथ्या सूचना, दुष्प्रचार, चरित्रहत्या तथा घृणास्पद अभिव्यक्तियुक्त सामग्री प्रकाशन नगर्न सञ्चारमाध्यम, पत्रकार र सञ्चारकर्मीलाई सचेत रहन काउन्सिलले आग्रह गरेको छ । साथै, तथ्य परीक्षणबिनाको सामग्री प्रकाशन, सामाजिक सञ्जालको दुरूपयोग र गैरपेसागत तथा गैरकानुनी गतिविधिबाट टाढा रहन समेत काउन्सिलले ध्यानाकर्षण गराएको छ ।