काठमाडौँ, ६ चैत — धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ निवासी रुबी कुमारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। २५ वर्षीया रुबी सिभिल इन्जिनियरिङ अध्ययनरत रहँदै समानुपातिक निर्वाचन प्रणालीमार्फत श्रम संस्कृति पार्टीबाट संसद्मा प्रवेश गरेकी हुन्।
कम उमेरमै विवाहको दबाब सामना गरेकी रुबीले बालविवाह र दहेज प्रथाविरुद्ध दृढ अडान लिएकी थिइन्। परिवार तथा समाजबाट बारम्बार विवाहको प्रस्ताव आए पनि उनले “पहिले देश सेवा, त्यसपछि विवाह” भन्ने धारणा कायम राखिन्। बालविवाहका कारण पीडित भएका किशोरीहरूको अवस्था नजिकबाट अवलोकन गरेपछि उनी सामाजिक परिवर्तनका लागि थप प्रतिबद्ध बनेकी थिइन्।
निर्वाचन आयोगबाट प्रमाणपत्र ग्रहण गरेपछि उनले मधेस क्षेत्रमा विद्यमान कुरीति अन्त्य गर्ने संकल्प व्यक्त गरिन्। उनका अनुसार मधेसमा अझै पनि धेरै किशोरीहरूको १६ वर्ष नपुग्दै विवाह हुने प्रवृत्ति कायम छ।
रुबीका बाबु विगत एक दशकदेखि साउदी अरबमा मजदुरी गर्दै आएका छन्। स्वदेशमै पर्याप्त रोजगारी सिर्जना भएमा वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता अन्त्य हुने उनको विश्वास छ। युवा रोजगारी प्रवर्द्धन, बालविवाह नियन्त्रण र सामाजिक सुधार उनका प्रमुख एजेन्डा रहेका छन्।