सरकारको कडाइ: २४ घण्टाभित्र सबै बेटिङ एप बन्द हुने

काठमाडौं, १५ चैत । सरकारले अनलाइन सट्टेबाजी (बेटिङ) एप र सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण लाई यस्तो निर्देशन दिएको हो।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना को अध्यक्षतामा आइतबार मन्त्रालयमा बसेको बैठकले बेटिङ एप तथा वेबसाइट तत्काल बन्द गर्ने निर्णय गरेको हो। उक्त निर्देशनसँगै प्राधिकरणले प्रक्रिया सुरु गरिसकेको जनाएको छ। प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्याल का अनुसार सेवा प्रदायक (अपरेटर) हरूलाई आवश्यक निर्देशन दिइसकिएको छ।

यसअघि चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची स्वीकृत गर्दै देशभर सञ्चालनमा रहेका सबै सट्टेबाजी एप र वेबसाइट बन्द गर्ने निर्णय गरेको थियो। सोही कार्यसूचीअनुसार सञ्चार मन्त्रालयलाई २४ घण्टाभित्र यस्तो गतिविधि रोक्न निर्देशन दिइएको हो।

सरकारले अवैध आर्थिक कारोबार तथा पुँजी पलायन नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालेको जनाएको छ। साथै, मन्त्रालयले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्न निर्देशन दिएको छ।

मन्त्री तिमिल्सिनाले ‘डिजिटल शासन’ र ‘डेटा गभर्नेन्स’ मा केन्द्रित भई नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। साथै, मन्त्रालयका कामहरूको नियमित अनुगमन र रिपोर्टिङ प्रणालीलाई समेत सुदृढ बनाइने जनाइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस