काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाज पार्टी नेपाल बीच भएको पार्टी एकतालाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको छ । आयोगबाट मान्यता प्राप्त भएसँगै दुवै दलको एकता प्रक्रिया अब कानुनी रूपमा टुङ्गिएको छ ।
गत पुस २७ गते उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालले एकता घोषणा गरेका थिए । त्यसपछि फागुन २१ गते सम्पन्न निर्वाचनमा दुवै दल संयुक्त रूपमा सहभागी भएका थिए ।
निर्वाचन आयोगले प्रारम्भिक चरणमा बुझाइएको कागजातमा केही नेताको नाम दुवै पार्टीमा देखिएको भन्दै थप स्पष्टता र आवश्यक कागजात माग गरेको थियो । आवश्यक सबै प्रक्रिया पूरा भएपछि आयोगले एकतालाई मान्यता दिएको जसपा नेपालका नेता शैलेन्द्र साह ले जानकारी दिए ।
एकता प्रक्रियामा सुरुमा जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी पनि सहभागी भए पनि अन्तिम मान्यतामा ती दल समावेश भएका छैनन् । नेता सुरेन्द्र झा का अनुसार वृषेशचन्द्र लाल नेतृत्वको तमलोपाले अलग हुने निर्णय गरिसकेको र हृदयेश त्रिपाठीले आफ्नो पुरानो पार्टी औपचारिक रूपमा विघटन नगरेकाले तत्काल समावेश हुन नसकेको हो ।
निर्वाचन आयोगले संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयहरूलाई समेत एकताबारे जानकारी पठाइसकेको छ । एकता प्रक्रिया पूरा भएसँगै जसपा नेपालको ५४ सदस्यीय कार्यान्वयन समिति गठन भएको छ । समितिमा महन्थ ठाकुर संरक्षक तथा उपेन्द्र यादव अध्यक्ष रहेका छन् ।