वरिष्ठ साहित्यकार डा.विमलको राजकीय शोक सलामीसहित अन्तिम संस्कार गरिँदै

जनकपुरधाम । वरिष्ठ साहित्यकार, बहुभाषाविद्, संस्कृतिविद् तथा मैथिली विकास कोषका संस्थापक अध्यक्षसमेत रहेका विमलको अन्तिम संस्कार मंगलबार अपराह्न जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय शोक सलामीसहित गरिने भएको छ ।

उनको शवयात्रा अपराह्न ३ बजे जनकपुरधाम–१० देवीचोकस्थित पुस्तैनी घरबाट निकालिने जनाइएको छ । नेपाली, मैथिली, हिन्दी तथा अङ्ग्रेजी साहित्यका मूर्धन्य व्यक्तित्व डा. राजेन्द्रप्रसाद विमलको मंगलबार बिहान निधन भएको हो । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहका अनुसार शवयात्रालाई जनकचोकमा उपमहानगरपालिकाको तर्फबाट श्रद्धाञ्जली अर्पण गरिनेछ । विमलको सम्मानमा राजकीय शोक सलामी दिने निर्णय गरेकोमा मेयर साहले संघीय सरकारका साथै सरकारसँग सहजीकरण गरेका धनुषा–३ का सांसद मनिष झालाई पनि उनले धन्यवाद दिएका छन् । मधेश प्रदेश सरकारसँग समेत शोक सलामीका लागि आग्रह गरिएको भए पनि त्यसबारे आधिकारिक जानकारी प्राप्त हुन नसकेको जनाइएको छ ।

सन् १९४७ मार्च २६ मा जनकपुरधामको देवीचोकमा जन्मिएका विमलले विद्यावारिधिसम्मको अध्ययन गरेका थिए । उनले १२ वर्षको उमेरमै ‘आर्यावर्त’ हिन्दी दैनिकमा पहिलो लघुकथा प्रकाशित गरेका थिए । १५ वर्षको उमेरमा प्रकाशित ‘कचनार के पेंड’ कथा चर्चित बनेको थियो भने सोही वर्ष ‘मिथिला मिहीर’मा ‘मुईल बच्चा’ कथा प्रकाशित भएको थियो ।

उनका ‘समयका आँखा’, ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘बौआक पोथी’, ‘सुरुज उगवासँ पहिने’ लगायतका कृति प्रकाशित छन् । ‘बन्धनबाट मुक्ति’ कथा कक्षा ९ को अनिवार्य नेपाली तथा ‘लङ्का दहन’ स्नातक तहको अनिवार्य नेपाली पाठ्यक्रममा समावेश गरिएको छ ।

नेपाल विद्यापति भाषा–साहित्य पुरस्कार, गरिमा, जगदम्बाश्री सम्मान, राष्ट्रिय प्रतिभा तथा सिद्धि श्रीलगायत विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित विमल राराब क्याम्पस जनकपुरधामबाट प्राध्यापन सेवाबाट अवकाश लिएपछि साहित्य साधनामा सक्रिय थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस