राजविराज । समाचारमा प्रकाशित विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्।
वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले श्रेष्ठलाई हिरासतमा राखेको हो। श्रेष्ठविरुद्ध दिपिका सिंहको जाहेरीका आधारमा नेपाल सरकार वादी र श्रेष्ठ प्रतिवादी रहेको मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।
श्रेष्ठलाई बुधबार राति ललितपुरको बागडोलस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई औपचारिक रूपमा थुनुवा पुर्जी थमाएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीले श्रेष्ठ पक्राउ परेपछि उनको निवासमा समेत खानतलासी गरेको थियो। समाचारको स्रोत खोज्ने क्रममा राति करिब १ बजे निवासमा र त्यसपछि कार्यालयमा समेत प्रहरीले खानतलासी गरेको जानकारी प्राप्त भएको नेपाल पत्रकार महासंघले जनाएको छ।
श्रेष्ठ पक्राउ परेको घटनाप्रति नेपाल पत्रकार महासंघले भने गम्भीर आपत्ति जनाएको छ। महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भएको जनाएको छ।
महासंघका अनुसार समाचारमा प्रकाशित सामग्रीप्रति चित्त नबुझे त्यसको परीक्षण र आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने व्यवस्था छ। उक्त क्षेत्राधिकारलाई बेवास्ता गर्दै सरकारी संयन्त्र प्रयोग गरेर पत्रकार श्रेष्ठमाथि गरिएको व्यवहार संविधान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको मान्यताविपरीत रहेको महासंघको ठहर छ।
महासंघले घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसमाथि गम्भीर प्रश्न उठाएको भन्दै सरकारको कार्यशैलीको भत्र्सना गरेको छ। साथै, पत्रकार श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गर्न र प्रेसविरोधी व्यवहार सच्याउन माग गरेको छ।
समाचारसँग सम्बन्धित विवाद भए प्रेस काउन्सिल नेपालमार्फत कानुनी तथा संस्थागत प्रक्रिया अघि बढाउन महासंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ। यता, प्रहरीले भने श्रेष्ठविरुद्ध परेको जाहेरीका आधारमा कानुनी प्रक्रियाअनुसार अनुसन्धान भइरहेको जनाएको छ।
