काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकीकरणपछि २७९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ ।
जसपा नेपालले जारी गरेको पार्टी परिपत्रअनुसार दुवै पार्टीको केन्द्रीय समिति समायोजन गरी पार्टी विधानको धारा ८७ को उपधारा (२) बमोजिम नयाँ केन्द्रीय समिति गठन गरिएको हो ।
नयाँ केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् भने महन्थ ठाकुरलाई संरक्षकको जिम्मेवारी दिइएको छ । शरत् सिंह भण्डारी सह–अध्यक्ष तथा रकम चेम्जोङ वरिष्ठ नेताको जिम्मेवारीमा छन् ।
त्यस्तै उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्र प्रसाद सोनार, निलम वर्मा र परमेश्वर साहलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । प्रकाश अधिकारी, लालबाबु राउत र डा. सुरेन्द्र कुमार झालाई महासचिव बनाइएको परिपत्रमा उल्लेख छ ।
जयनुल राइन, दीपक कार्की, रामप्रकाश चौधरी, रानी कुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लिला देवी सिटौलासहितलाई उपमहासचिवको जिम्मेवारी दिइएको छ ।
अर्जुन थापा, उमेश यादव, अनिल कुमार सिंह, उपेन्द्र महतो, कमरुद्धिन राई, मिना चौधरी, रामप्रवेश बैठा, लाक्पा शेर्पा, शैलेन्द्र प्रसाद साह र सुनी लामालगायतलाई सचिवको जिम्मेवारी दिइएको छ ।
परिपत्रमा प्रदेश समिति, विशेष प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला तथा विशेष जिल्ला समिति, पालिका समिति र विभिन्न जनवर्गीय संगठनका केन्द्रीय समितिलाई समेत जानकारी गराइएको छ ।
पार्टी विधानको धारा १३० अनुसार केन्द्रीय सदस्यहरूको वरियताक्रम पछि तोकिने र हाल नामावली वर्णानुक्रमअनुसार राखिएको जसपा नेपालले जनाएको छ ।
परिपत्रअनुसार केन्द्रीय समितिमा अध्यक्ष, महासचिवलगायत पदाधिकारीसहित विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने २७९ सदस्य रहेका छन् । अन्तिममा उपेन्द्र यादवको अध्यक्ष र डा. सुरेन्द्र कुमार झाको महासचिवको रूपमा हस्ताक्षर रहेको छ ।