स्नेहा झा
सुनसरीको देवानगञ्जमा साउन १० गते भएको दुई पक्षीय विवाद र त्यसपछि भएको प्रहरीको अत्यधिक बल प्रयोगले अहिलेसम्म चार जना युवाको मृत्यु भइसकेको छ । केही उपचाररत छन् । घटनाको २० दिनभन्दा बढी भइसक्दा पनि त्यसको प्रभाव र चर्चा कायमै छ ।
यो चर्चा, बहस, विश्लेषण हुनु आवश्यक पनि छ । विशेष गरेर सरकार र सत्तारुढ दलका सांसदहरूले नै घटना साम्य भएको मात्र हो, खतरा टरेको छैन भन्ने अभिव्यक्ति दिइरहेको अवस्थामा यी र यस्ता अन्य घटनाहरूको मुल कारणभित्र प्रवेश गर्नु अत्यावश्यक हुनजान्छ ।
बदलिँदो सामाजिक आयामहरूको चर्चा हुनुलाई अस्वाभाविक वा आपत्तिजनक मान्न सकिँदैन । तर यो घटना र यसलाई केन्द्रमा राखेर मधेशको सामाजिक सौहार्द्रतामाथि जस्तो भाष्य बनाएर चर्चा हुँदैछ, त्यो पक्कै चिन्ताजनक छ । यसै सन्दर्भमा केही दिन पहिले अनलाइनखबर डटकममा सञ्चारकर्मी बिनु सुवेदीको लेख ‘मधेशको अयोध्याकरण’ प्रकाशित भयो । सो लेखले पनि मधेशी समाज र विशेष गरेर मधेशमा धार्मिक बहुसंख्यकको रुपमा रहेका हिन्दु समुदायमाथि एकतर्फी दोषारोपण गर्दै मधेशलाई असहष्णिु र साम्प्रदायिक देखाउन खोजेको भन्दै सामाजिक र राजनीतिक रुपले सचेत अधिकांश मधेशीले असन्तुष्टि जनाए ।
लेखमा बढ्दो धार्मिक उग्रता, सीमापारिको धार्मिक एजेन्डा सहितको राजनीतिको प्रभाव, टेलिभिजन र मोबाइलफोनमार्फत आइरहेका उग्र धार्मिक नारा तथा वैचारिक असहिष्णुताको प्रसार, मधेशमा बढ्दै गइरहेका धार्मिक संघसंगठन र तिनका क्रियाकलापहरू लगायत विभिन्न विषयमा चर्चा गरिएको छ । तर चर्चा र बहस गर्नैपर्ने मुख्य विषय, मधेशको सामाजिक – राजनीतिक इतिहासबारे मौनता छ । पञ्चायतदेखि गणतन्त्रसम्मको परिवर्तन भइसक्दा पनि हरेक राजनीतिक कालखण्डमा मधेशमाथि काठमाडौंद्वारा गरिएको नश्लीय राजनीति र सुनियोजित षड्यन्त्रहरूबारे लेख मौन छ ।
कुरा देवानगञ्ज घटनाको मात्र होइन, यस्तै प्रवृत्तिका अन्य घटनाहरू पनि छन् । के यी घटनाहरू केवल साम्प्रदायिक द्वन्द्व या हिंसा हुन् ? वा साम्प्रदायिक दंगाको नाम दिएर सँधै झैं मुल कारणलाई ओझेलमा पारिँदैछ र फेरि अर्को यस्तै घटनाको लागि मधेशलाई तयार गरिँदैछ ?
सुनसरीमा भएको घटना, लगत्तै अन्य जिल्लाहरू र मधेश प्रदेशमा भएको आन्दोलन, केवल दुई धार्मिक समुदायबीचको तनाव थियो ? वा राज्यका संयन्त्रहरूले तत्कालको सामान्य परिस्थिति नियन्त्रणमा लिन नसक्दाको वा लिन नचाहँदाको परिणाम ? युवाहरूको दुई समूहबीच भएको झगडालाई सामान्य शान्तिसुरक्षासँग सम्बन्धित घटनाको रुपमा सम्हाल्न नसक्नु प्रहरीको अक्षमता थियो ? वा कुनै ठूलै विष्फोट हुनका लागि वर्षौंदेखि जानी जानी सल्किन दिइएको आगोको झिल्को, जसले अनुकुल समय पाउनसाथ मधेशलाई जलायो ? भारतबाट स्वाभाविक रुपले सर्दै आएको धार्मिक उग्रताको बहावको कारण यी घटनाहरू हुँदैछन् ? वा मधेशलाई कहिले शान्त हुन दिन नचाहने नेपालकै सर्वकालिन नश्लीय राजनीतिक – सामाजिक चरित्रको परिणाम हुन् यी घटनाहरू ?
प्रश्न धेरै छन् । उत्तर एउटा घटना, वा यस्ता अन्य केही घटनाहरूमा मात्र खोजेर हुँदैन । सामाजिक द्वन्द्व एक दिनमै हिंसाको रुप लिएर सडकमा आइपुग्दैन । तराई मधेशमा यी दंगा र हिंसाहरूको एकमात्र कारण धर्म होइन । अन्य सबै कारणलाई छेउमा राखेर मात्र धार्मिक उग्रता र असहिष्णुताको दोष देखाउनु सतही बुझाई हुनसक्छ । अन्जानमा होस् या जानी जानी, मधेशलाई असहिष्णु हुनुको दोष दिन खोजिदैछ । एउटा यस्तो भाष्यको निर्माण गर्ने प्रयास हुँदैछ, जहाँ कुनै सत्यता छैन । वा त्यो पूर्ण सत्य होइन, केवल आंशिक सत्य हो ।
अहिले भइरहेका विश्लेषणहरूमा नरम शब्दहरूको प्रयोग भइरहेको भएपनि बिस्तारै यी विश्लेषणहरूले आम बुझाईको रुप लिनेछन् । र दोषैदोष थोपरिएको मधेशमाथि अर्को एउटा दोष थपिनेछ, असहिष्णु हुनुको दोष । मधेशलाई होच्याएर हेर्ने नयाँ चस्मा तयार हुँदैछ, ‘साम्प्रदायिक चस्मा’ । जसले मधेश असहिष्णु र साम्प्रदायिक हुँदै गएको दृश्य मात्र देखाउँछ । तसर्थ यस बुझाईको खण्डन समयमै गर्नु आवश्यक छ । यस्तो भाष्य निर्माणमा सहयोगी भूमिका खेल्नुबाट जिम्मेवार सञ्चारमाध्यमहरू, बुद्धिजीवी, नागरिक समाज जोगिनु पनि उति नै आवश्यक छ ।
मधेशमाथि यसअघि पनि विभिन्न भाष्यहरू बनाइएका छन् । मधेश र मधेशीलाई विभिन्न दोषहरू लगाइएका छन् । जसको जवाफ हाम्रा पुर्खाहरूले दिने प्रयास गरिरहे । अहिलेपनि ती दोषयुक्त प्रश्नहरूले हामीलाई छाडेका छैनन् । हाम्रो पुस्तासम्म आइपुग्दा र हामीपछिको पुस्ताले पनि सम्पूर्ण दोष, आरोप र भाष्यहरूको खण्डन गर्नमै आफ्नो समय सिध्याइरहेको छ । यस्तोमा कुनै घटना वा केही घटनाको सतही कारण समातेर सिंगो मधेशी समाजको सभ्यता, संस्कार र सहिष्णुतामाथि प्रश्न उठ्ने गरी पुनः कुनै अपमानजनक भाष्य बनाउनु मधेश र मधेशीमाथि अर्को अपराध हुनेछ ।
सुनसरीकै घटनामा पनि मुख्य दोषी कुनै समुदाय हो वा अनावश्यक र सन्देहात्मक शैलीमा बल प्रयोग गर्ने प्रहरी प्रशासन भन्ने बहस जति हुनुपर्ने त्यति भएकै छैन । बहस र विश्लेषणको दिशा दुई धार्मिक समुदाय बीचको द्वन्द्वमा केन्द्रित भएको छ । यसमा सरकारको पनि गल्ती छ । दुःखद घटनाको जवाफदेहिता स्थानीय प्रशासन, सुरक्षा संयन्त्र र स्थानीय राजनीतिक नेतृत्वको काँधमाथि जानुपथ्र्यो । तर सरकारका संयन्त्रहरूले नै दुई समुदायबीचको द्वन्द्व भनेर परिभाषित गर्नु आफ्नो पहिलो दायित्व ठान्यो ।
सरकारका सम्पूर्ण संयन्त्रहरू सिंहदरबारमा बस्नेहरूप्रति उत्तरदायी हुन्छन् । सिंहदरबार सत्ता र शक्तिको केन्द्र हो । सत्ताको चरित्र आफ्नै किसिमको हुन्छ । नागरिक समाज, सञ्चारजगत र बुद्धिजीवीहरूले सत्ताको चरित्रभन्दा फरक चरित्र देखाउन सक्नुपर्छ । त्यसैले सिंगो मधेशी समुदाय र विशेष गरेर यहाँका बहुसंख्यकहरूलाई असहिष्णु प्रमाणित गर्ने कथ्यहरू सार्वजनिक भइरहँदा केही तथ्यमा ध्यान दिनु जरुरी छ । अहिले नै तथ्यहरूको विश्लेषण गरिएन भने कालान्तरमा कथ्यहरूले सत्यको रुप लिन्छन् । जुन वास्तवमा सत्य हुँदैनन् । तर दोहोर्याई तेहेर्याई प्रस्तुत गरिएपछि त्यसले सत्य हुनुको आभाष दिन थाल्छ ।
देशको कुल भूगोलको करिब १७ प्रतिशत मात्र रहेको तराई भूभागमा देशको कुल जनसंख्याको करिब ५३ प्रतिशत मानिस बसोबास गर्छन् । र यसमा पनि एक तिहाई भन्दा बढी गैर मधेशी मुलकाहरूको बसोबास छ । जसको भाषा, संस्कृति, रहनसहन, खानपान केही पनि मधेशी समाज र सभ्यतासँग मिल्दैन । तर पनि मधेशले वर्षौंदेखि सबैलाई खुला हृदयले स्वीकारेको छ ।
देशको अरु कुनै पनि भूभागमा भन्दा तराई मधेशमा धार्मिक, सांस्कृतिक र भाषिक हिसाबले मिश्रित समाज रहेको छ । यसमा संघीय राजधानी काठमाडौं एउटा अपवाद हुनसक्छ । तराई मधेशले सबैलाई आफ्नो भूमिमा स्वागत गरेको छ । सँधै मिलेरै बसेको छ ।
मधेशका कतिपय गाउँशहरमा मधेशीहरू नै अल्पमतमा परिसके । तर पनि मधेशले धैर्य गुमाएको छैन । मधेशको कैंयौ गाउँ, शहर, चोक र गल्लीहरूको नाममा मधेशीपन छैन । तर पनि मधेशले त्यसलाई सगर्व स्वीकारेको छ । मधेशले पञ्चायत कालदेखि नै आफ्नो भूमिबाट गैरमधेशी मुलका नेताहरुलाई जिताउँदै आफ्नो प्रतिनिधिको रुपमा काठमाडौं पठाउँदै आएको छ । मधेशको यस सामाजिक सांस्कृतिक संस्कारमा मधेश आन्दोलन पछिका वर्षहरुमा केही विचलन पक्कै देखिएको थियो । तर त्यो मधेशी समुदाय मात्रको दोष थिएन । त्यो तात्कालिन राजनीतिक परिस्थिति र वर्षौंदेखि मधेशमाथि गरिँदै आएको विभेदविरुद्धको विष्फोट थियो । जसलाई थप सल्काउने काम राजनीतिक नेतृत्वले गरे ।
तराई मधेश बाहेक देशको अन्य भूगोलमा हामीले यस्तो खालको कुनै समाजको परिकल्पना गर्न सक्छौं ? अपवादको रुपमा देशको राजधानी काठमाडौंलाई छोडिदिने हो भने तराई मधेश बाहेक कुन भूगोलले आफ्नो गाउँशहरमा आफ्नै गाउँठाउँको संस्कृति र संस्कारलाई चुनौति दिनेगरी अन्य कुनै समुदायको स्थायी उपस्थितिलाई हर्षका साथ स्वीकार्नेछ ? यस्तो सहिष्णुता मधेश बाहेक देशको अर्को कुनै भूगोलमा यति स्पष्टताका साथ देखिएको छैन । अपवाद भनिएको काठमाडौंले मधेशीलाई आश्रय त दिएको छ, तर भेदभाव र अपमान गर्न छोडेको छैन । त्यसैले पहिलो सत्य यो स्वीकार्नु आवश्यक छ कि देशको सबैभन्दा सहिष्णु समाज मधेशी समाज हो ।
जब कुनै समाज विकासको हरेका सूचङ्काकमा पछाडि पर्दै जान्छ, देशको एउटा भूगोललाई सत्ताले नै दशकौंदेखि दोहन गरिराख्छ, जहाँका युवाहरूमा शिक्षाप्रतिको मोह भंग हुनथाल्छ र बेरोजगारीले जरा गाड्छ, जुन समाजको नाबालक र किशोरहरू अभिभावक बिना नै हुर्किन्छन्, कालान्तरमा त्यस समाजमा सामाजिक विचलन आउँछ नै ।
कामको लागि विदेशिनेहरू सबैभन्दा धेरै मधेशबाटै छन् । अधिकांश खाडी मुलुक जान्छन् । मधेशमा सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको अवस्था दयनीयभन्दा पनि गएगुज्रेको छ । यहाँको मुख्य पेशा कृषिले अब परिवारको खर्च धान्न पनि गार् हो छ । यहाँ आउने प्रशासकहरू मनमा सेवाभाव लिएर आउँदैनन्, शासन र आर्थिक भ्रष्टाचार गर्ने नियत बोकेर आउँछन् । मधेशको समग्र विकासको लागि समर्पित व्यक्ति न राजनीतिक वृत्तमा देखिन्छन् र प्रशासनिक क्षेत्रमा । यस्तोमा मधेशी समाजमाथि भारतीय प्रभावकै कारण सामाजिक विचलन आएको हो भन्नु राज्यको गैरजिम्मेवारीलाई ढाकछोप गर्नु मात्र हो । वा मधेशलाई विकसित हुननदिने षड्यन्त्रको पक्षधरता हो पनि भन्न सकिन्छ ।
बदलिँदो सामाजिक परिवेशकै कुरा गर्ने हो भनेपनि मधेशमाथि एकोहोरो साम्प्रदायिकताको दोष लगाउनु आफैमा साम्प्रदायिक सोच हो । सुनसरीको घटना र यस्ता अन्य घटनाहरूको एक मात्र कारण ‘जय श्री राम’ को नारा र ‘राम र हनुमान’ चित्राङ्कित झण्डा हो भन्ने बुझाई पनि साम्प्रदायिक सोच नै हो । अल्पसंख्यक होस् वा बहुसंख्यक, यस्ता घटनाहरूको पूर्ण दोष कुनै एक समुदायलाई मात्र दिनु भनेको अर्को विषम परिस्थितिको निर्माण गर्न खोज्नु हो । बहुसंख्यकमाथि सबै दोष थोपरिदिनु सहिष्णुताको परिभाषा होइन । यदि विचारमा सन्तुलन छैन भने त्यो साम्प्रदायिक सोच हुन्छ । साम्प्रदायिक सोच सँधै अल्पसंख्यककै विरुद्धमा आउँछ भन्ने छैन, कहिलेकाँही बहुसंख्यककाविरुद्ध पनि आउनसक्छ ।
अल्पसंख्यकहरूप्रति राज्यको विशेष दायित्व हुन्छ, हुनैपर्छ । अल्पसंख्यक र पछाडि पारिएका समुदायप्रति राज्यले सकारात्मक विभेदको नीति अवलम्बन गर्नुपर्छ । समाजमा सामञ्जस्यता र सौहार्द्रता कायम गर्ने मुख्य जिम्मेवारी बहुसंख्यकहरूको हो, यो पनि सत्य हो । तर यी सबै सत्यलाई स्वीकारिरहँदा बिर्सन नहुने अर्को कुरा के हो भने धार्मिक भावना सबैको उस्तै हुन्छन् । असंवेदनशील वक्तव्यले अल्पसंख्यक वा बहुसंख्यक सबैको धार्मिक भावना आहत हुनसक्छ । एउटा समुदायको धार्मिक भावनाको कदर गरिरहँदा अर्को समुदायको धार्मिक भावना आहत भएको छ कि भन्ने विचार पुर् याउनु पनि आवश्यक हुन्छ ।
बहुसंख्यकहरूमाथि एकतर्फी रुपले दोषारोपण गरिरहँदा, धार्मिक सौहार्द्रता र सहिष्णुता कायम राख्न बहुसंख्यकहरूले निर्वाह गरेको भूमिका पनि बिर्सन मिल्दैन । हिन्दु समुदायको सहिष्णुता, स्वीकार्यता र सबै धर्म–सम्प्रदायलाई सम्मान गर्ने मान्यताको कारण धार्मिक सामाजिक सौहार्द्रता कायम रहेको कुरा सार्वजनिक रुपले बोल्न लेख्न धेरैलाई अप्ठ्यारो लाग्छ । यो सौहार्द्रता बनिरहनुमा हिन्दु समाज मात्रको योगदान छ भन्न खोजेको होइन । अरु धार्मिक समुदायले पनि उति नै भूमिका खेलेका छन् । तर आलोचना र प्रशंसा दुबै सन्तुलित एवं न्यायोचित हुनुपर्छ भन्ने मुख्य आशय हो ।
भारतको हिन्दुवादी राजनीतिको प्रभाव मधेशमा देखिएको बुझाई पनि अहिले व्याप्त छ । यो बुझाई पुर्ण रुपले गलत होइन । तर सत्य केवल यति मात्र पनि होइन । छिमेकी मुलुकको राजनीतिको प्रभावबाट हामी अछुतो रहन सक्दैनौं । तर हामीलाई केवल भारतको हिन्दुवादी राजनीतिले छोएको छ भन्नु गलत हुनेछ । यदि हामीलाई भारतको उग्र हिन्दुवादले छोएको छ भने हामी पाकिस्तान, बंगलादेश, म्यानमार, इजरायल, प्यालेस्टाइन, अमेरिका र युरोपेली मुलुकहरूमा जे भइरहेको छ, त्यसको प्रभावबाट पनि मुक्त छैनौं । अयोध्याको प्रभावको चर्चा गर्ने हो भने म्यानमार र बंगलादेशको पनि चर्चा गर्नुपर्छ । एकपक्षीय रुपमा एउटा मात्र समुदायलाई लक्षित गरेर बयान र टिप्पणीहरू आउनु द्वन्द्व निरुपणको उपाय होइन । द्वन्द्व बढाउने युक्ति हो ।
अल्पसंख्यकको सम्मानसँगै बहुसंख्यकको सम्मान पनि किन आवश्यक छ भन्ने कुराको उदाहरण छिमेकी देशको राजनीतिले नै स्पष्ट पार्छ । भारतीय जनता पार्टीले केवल भ्रष्टाचार र विकासको मुद्दा बोकेर भारतीय कांग्रेसलाई तीन कार्यकालसम्म प्रतिपक्षमा राख्न सफल भएको होइन । भारतीय कांग्रेस अल्पसंख्यकको हितैषी रहेको र बहुसंख्यकको कदर नगर्ने भाष्य भाजपाले आम भारतीय हिन्दुमा स्थापित गर्न सफल भएको थियो । यसै महत्वपूर्ण भाष्यले भारतीय जनता पार्टीलाई लगातार तीन कार्यकालसम्म सत्तामा टिकाइरहन सहयोग गरेको छ । हामीले यस्तो कुनै गल्ती यहाँ गर्नुहुँदैन । यस्तो कुनै भाष्य यहाँ बन्न दिनुहुँदैन । होइन भने सोही भाष्यको सहाराले कुनै अतिवादी शक्तिले यहाँ पनि फल्ने फूल्ने मौका पाउनेछ ।
मधेश लामो समयदेखि संघर्षरत छ । अहिलेसम्म पहिचान र आत्मसम्मानको लडाईं नै पुरा जित्न नसकेको मधेशमा अर्को कुनै लडाईंको बीज दूर्भाग्यपूर्ण हुनसक्छ । अहिलेको पहिचान र आत्मसम्मानको लडाईं काठमाडौंकेन्द्रित हो । तर मधेशभित्रै सामाजिक द्वन्द्व सल्काउन मधेशविरोधी शक्तिहरू सफल भए भने दशकौंको संघर्षपछि प्राप्त उपलब्धीहरू पनि हाम्रो हातबाट फुत्किन थाल्नेछन् । पहिचान विरोधी एकल जातीय शासन चाहने वर्गले खोजेको यही हो ।
शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा बहस गर्न हामीसँग समय नै छैन । हामीभन्दा अघिल्लो पुस्ताले पहिचान र सम्मान सहितको राजनीतिक अधिकारकै लागि प्राण त्यागे । हामी पनि राजनीतिक अधिकारकै लडाईं लडिरहेका छौं । हामी पछिको पुस्ता पनि अस्तित्वकै लडाई लड्न बाध्य छन् । यस्तोमा मधेशी समाजमाथि धार्मिक उग्रता र असहिष्णुताको दोष लाग्न नदिने प्रण यहाँका बहुसंख्यक र अल्पसंख्यक सबैले लिनुपर्छ । मधेशलाई बदनाम गराउन खोज्ने षड्यन्त्रविरुद्ध हरेक धर्म, जात र वर्गका मधेशीले सामूहिक आवाज उठाउनुपर्छ ।
Source: https://jhasnehablog.wordpress.com/author/mithilanisneha/