वर्षाले २० वटा पुल क्षतिग्रस्त

काठमाडौँ, २५ असार । गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो । पुलका १२ वटा स्पान (पुल निर्माणको एक भाग) रहेको पुलको सिरहातर्फको दोस्रो स्पान भासिएपछि अनेक प्रश्न खडा भएका छन् ।

त्यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइस्थित त्रियुगा नदीको पक्की पुलसमेत भत्कियो । सो पुलको एउटा स्पान नदीमा झरेको छ भने अर्को ढल्किएको छ । असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पाँचवटा पुल बगायो । यस वर्षको वर्षायाम सुरु भएयता मनाङमा तीनवटाका साथै गोरखाको बारपाक अजिरकोट जोड्ने पुल भत्काएको छ । यस वर्षको वर्षा सुरु भएयता २० वटा पुल क्षतविक्षत नै भएका छन् ।

वर्षायाममा मात्र होइन सुक्खायामा समेत निर्माणाधीन पुल भत्केको तितो यथार्थ छ । गत वर्ष चैतमा चितवन र तनहुँ जोड्ने नारायणी नदीमाथि निर्माण भइरहेको पुल भत्कियो । यस वर्षको वैशाखमा निर्माणको अन्तिम अवस्थामा रहेको धादिङको गल्छी गाउँपालिका केउरिनीटारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुलमा हावाहुरीले गम्भीर क्षति पुग्यो । गोरखापत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस