कांग्रेस महाधिवेशन : सजिलो छैन ५० प्रतिशत मत कटाउन

काठमाडौं, २६ मंसिर। कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व दाबी गर्दै सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गर्नुभएको छ । प्यानलसहित उम्मेदवारी दर्ता गरेका नेतृत्वका आकांक्षी नेताहरूलाई निर्वाचन जित्न भने त्यति सजिलो छैन ।

अहिलेसम्मको अवस्थामा कम्तीमा तीन जना र बढीमा छ जना सभापतिको उमेदवार हुने देखिएको छ । कांग्रेस विधानमा सभापतिमा दुईभन्दा बढी उम्मेदवार भएमा विजयी उम्मेदवारले खसेको मतको ५० प्रतिशत कटाउनुपर्छ । यदि, कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच फेरि निर्वाचन हुनेछ ।

निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिको अन्तिम नामावलीमा ४ हजार ७ सय ४३ जनाको सूची छ । यो हिसाबमा हेर्ने हो भने पहिलो चरणमा विजयी हुन सभापतिको उम्मेदवारले २ हजार ३ सय ७३ मत ल्याउनुपर्ने हुन्छ । संस्थापनइतर समूहबाट धेरै उम्मेदवार हुँदा देउवाले पहिलो चरणमै ५० प्रतिशत मत कटाउने आँकलन छ । नेपाल समाचारपत्रले आकांक्षी उम्मेदवारहरूको सचिवालयले तयार पारेको महाधिवेशन प्रतिनिधिको हिसाब हेर्दा २ हजार ३ सय ७३ मत एउटै उम्मेदवारलाई जाने देखिँदैन ।

कांग्रेसभित्र गुट र प्रभावशाली नेताहरूको थप उपगुट भएकाले सचिवालयले निकालेको जोड घटाउको हिसाबमा सभापतिका दाबेदार नेताहरू ढुक्क छैनन् । सभापति मात्र हैन पदाधिकारीको टिम मिल्न सकेन भने पनि अहिले निकालिएको हिसाब नमिल्न सक्छ । इतर समूह विभाजित हुँदा पहिलो चरणमै जितिन्छ भन्ने सचिवालयले दिएको रिपोर्टमा देउवा ढुक्क हुन सक्ने ठाउँ छैन ।

सभापतिका आकांक्षी नेताहरूको सचिवालयको रिपोर्ट हेर्दा देउवाको पक्षमा १ हजार ५ सयभन्दा बढी मत देखिन्छ । शेखर कोइरालाको पक्षमा १ हजार २ सयभन्दा बढी मत देखिन्छ । त्यस्तै, प्रकाशमान सिंहको पक्षमा ४ सयभन्दा बढी मत रहेको भन्ने छ । निधिको पक्षमा पनि ४ सयभन्दा बढी मत छ भन्ने देखिएको छ । कांग्रेसभित्र तेस्रो गुटको रूपमा रहेका कृष्णप्रसाद सिटौलाले अघिल्लो महाधिवेशनमा भन्दा आफ्नो शक्ति बढेको भन्दै ४ सयभन्दा बढी मतदाता हुने अनुमान गर्नुभएको छ । आफू सभापतिमा नउठेका सिटौलाले देउवालाई सहयोग गरे पनि ५० प्रतिशत पुग्ने देखिँदैन ।

महाधिवेशनमा ५ सय जति तटस्थ रहने अनुमान छ । उनीहरूले नेता, प्यानल हेरेर क्रस मतदान गर्ने अनुमान छ । कांग्रेसको यो अधिवेशनमा सभापतिका आकांक्षी नेताहरूको सचिवालयले दिएको रिपोर्टभन्दा फरक नतिजा आउने सम्भावना बढेको छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस