सप्तरीमा देखियो अज्ञात रोग, दर्जनौं पशुचौपाया मरे

सप्तरी, २५ मंसिर। छिन्नमस्ता गाउँपालिका–४ ललापट्टी टोलमा फैलिएको अज्ञात रोगले धमाधम पशु चौपाया मर्न थालेका छन् । दुई सातादेखि फैलिएको सो रोगको संक्रमणबाट अझैं पशु चौपाया मर्ने क्रम जारी नै रहेकोले कृषकहरु चिन्तित बनेका छन् ।

रोगको संक्रमणबाट सो अवधिमै सयौं पशु चौपाया मरेको छ भने दर्जनौं पशु चौपायामा रोगले ग्रसित देखिएको स्थनीयहरु बताउँछन् । ‘दुई साताअघि नै चौपायामा रोग देखिएको छ’ स्थानीय विनोद कुमार यादवले भने–‘चौपायाको मुखबाट र्याल आउने, काप्ने, छट्पटाउने, घाँस र पानी नखाने, गोडा सुनिने, खुट्टा र मुखमा घाउ हुने, पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेको छ ।’

उनका अनुसार शम्भुकुमार मण्डल, विश्वनाथ मण्डल, श्यामसुन्दर यादव, दानालाल शर्मा, योगेन्द्र यादव, उचित यादव, देवेन्द्र यादव, दशरथ यादव, बौवा मडर, राम यादव, संतोश यादव लगायतका कृषकहरु चौपाया मरेको छ भने अहिले पनि एक सय जति चौपाया विरामी रहेको उनले बताए ।

‘सुरु–सुरुमा चौपायामा खुट्टा र मुखमा घाउ आउने समस्या देखियो, समान्य कुरा भनेर हामीले घरेलु औषधी उपचार सुरु गरे’ स्थानीय कृषक रविन्द्रनाथ यादवले भने–‘घरेलु दवाइले पनि केही चौपाया निको भयो तर अन्य चौपायामा पनि फरक फरक लक्षण देखिन थाल्यो, पछि गाउँभरि फैलियो ।’

अहिले जे जति उपचार गराउँदै आएता पनि पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण देखिएर चौपाया मर्न नै थालेको उनले बताए । ‘अहिले धान भित्रियाउने बेला रहेकोले आफुहरुलाई दोहोरो खेप्नु परेको छ’ उहाँले भन्नभुयो–‘धान भित्रियाउने की चौपायाको उपचार गराउने?, दुविधामै लाखौंको क्षति हुन पुगेको छ ।’

गाउँभरिका अधिकांश चौपायामा ती लक्षणहरु देखिएता पनि गाउँपालिकाबाट कुनै पहल नभएको उनले गुनासो गरे ।

अर्का कृषक रामसागर यादवले गाई, भैंसी, बाख्रा सहितका सयौं चौपाया मरिसकेको र सोही संख्यामा चौपायाहरु विरामी देखिएता पनि सरोकारबालाले गम्भीरता नदेखाएको प्रति आक्रोश व्यक्त गरे । ‘हाम्रा लागि सरकार नै छैन जस्तो भयो’ उनले भने–‘हाम्रो जिविकोपार्जन गर्ने आधार नै पशुपालन हो तर पशुलाई नै जोगाउने सकिरहेको छैन्, गाउँपालिका र गाउँपालिकाको शाखामा जानकारी गराइसक्दा समेत कुनै सुनुवाइ नै गर्दैन् ।’

उनले तत्काल रोगको पत्ता लगाएर उपचारतर्फ गम्भीता देखाउन आग्रह समेत गरे ।

यता, छिन्नमस्ता गाउँपालिकाका पशु शाखाका प्रमुख चन्द्रनारायण पण्डितले लक्षणको आधारमा केही समान्य औषधीहरु चलाइएको बताए । ‘गंगटा जस्तो लक्षण देखिएको छ र सोही लक्षणअनुसार हामीले समान्य औषधी चलाइरहेका छौं’ उनले भने–‘अहिले हामीसँग पनि औषधी सकिएको अवस्था छ, हामीले सम्बन्धित निकायमा जानकारी गराइसकेका छौं र त्यहाँबाट टोली पठाउने आश्वासन पाएका छौं ।’

औषधीको लागि पनि गाउँपालिकामा जानकारी गराए पनि अझैं औषधी उपलब्ध नगराउदा रोग नियन्त्रण गर्न समस्या भइरहेको प्रमुख पण्डितको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस