चुनावको बेला पनि स्थानीय तह निमित्तका भरमा

जनकपुरधाम । चुनावको बेला पनि २ सय १३ स्थानीय तह निमित्तको भरमा चल्ने भएका छन्। चुनावको बेला स्थानीय तहमा निमित्त झिक्न र दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न निर्वाचन आयोगले दिएको निर्देशन सरकारले कार्यान्वयन गर्न सकेन । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार चुनावका बेला २ सय १३ स्थानीय तह निमित्तको भरमा चल्ने भएका छन्। यहाँसम्म कि सुगम मानिएका पाँचवटा उपमहानगरपालिकासमेत निमित्तको भर पर्नुपर्ने अवस्थामा छन् ।

गत फागुनमै आयोगले चैत १५ सम्म सबै स्थानीय तहमा निमित्त झिक्न र दरबन्दीअनुसार पदपूर्ति कायम गर्न सरकारलाई निर्देशन दिएको थियो। सरकारले उक्त निर्देशन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिएको थियो। आयोगको निर्देशनअनुसार सामान्यले निमित्त झिक्न प्रयास पनि गरेको थियो तर यसमा सामान्य सफल हुन सकेन।

सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव रविन्द्रजंग थापाले कर्मचारीको अभावको कारण सबै स्थानीय तहमा निमित्त झिक्न नसकिएको बताए। ‘निर्वाचनका बेला सबै स्थानीय तहमा निमित्त झिक्न र दरबन्दीअनुसार कर्मचारी पठाउन हामीले प्रयास गरेका थियौं,’ थापाले भने, ‘तर कर्मचारीको अभावका कारण सबै स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी पठाउन सकेनौं।’

मन्त्रालयका अनुसार घोराही, तुलसीपुर, नेपालगन्ज, जितपुर सिमरा र कलैया उपमहानगरपालिका निमित्तको भरमा चलेका छन्। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिवसरहको कर्मचारी हुने व्यवस्था छ। तर यी ५ ठाउँमा उपसचिव सरहकै कर्मचारीहरूले निमित्त चलाएका छन् ।

यसैगरी १ सय ३ नगरपालिका निमित्तको भरमा चलेका छन् । नगरपालिकामा उपसचिवसरहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । तर ती नगरपालिकामा शाखा अधिकृतसरहका कर्मचारीहरू निमित्त चलाएका छन् । समाचार आजको नागरिक दैनिकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस