नागरिकता प्रकरण : अदालतबाट सातदिने म्याद थप

राजविराज, १३ पौष । सप्तरीमा भारतीयमूलका युवकलाई नागरिकता बनाईदिन आमा बनेकी माइजू र उहाँका भान्जामाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।

गत शुक्रबार जिल्लाको डाक्नेश्वरी नगरपालिका–३ तरहीकी फुलियादेवी मुखिया र भारत विहार राज्यको मधुबनी जिल्लास्थित फुलपरास निवासी लोचन मुखियाका छोरा २० वर्षीय धीरजकुमार मुखियालाई नियन्त्रणमा लिइएको थियो ।

माइजू पर्ने फुलियादेवीले धीरजलाई छोरा बनाई सर्जमिन मुचुल्का र वडा कार्यालयको सिफारिससहित ईलाका प्रशासन कार्यालय बोदे बरसाईन पुगेकी थिइन । सोही बेला धीरज भारतीय नागरिक रहेको भन्दै जानकारी आएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।

सोमबार सप्तरी जिल्ला अदालतबाट नागरिकता सम्बन्धि कसुरमा सात दिन म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । ‘हामीले ७ दिनको म्याद पाएका छौं’ उनले भने, ‘ईलाका प्रहरी कार्यालय कडरबोनाले अनुसन्धान गरिरहेको छ, के कसरी सर्जमिन मुचुल्कासम्म पुगेको हो, त्यो पनि अनुसन्धानकै पाटो हो’ उनले भने, छिट्टै स्प्ष्ट कुरा आउँछ ।’

केही वर्षदेखि मामा घरमै बसोबास गर्दै आएका भारतीय नागरिक धीरजले व्यक्तिगत घटना दर्ता सम्बन्धित वडामा टोली खटेको बेला२०७७ चैत १३ गते जन्मदर्ता लिएका थिए । २०५९ भदौ २१ गते जन्ममिति राखेर जन्मदर्ता लिनुभएको धीरजलाई नेपाली नागरिकता बनाईदिने प्रयास पहिले पनि नभएको होइन् ।

निर्वतमान वडाध्यक्ष प्रदीप साहकाअनुसार यसअघि उनी जनप्रतिनिधि रहदा नै धेरै पटकसम्म सिफारिस उपलब्ध गराइदिन प्रलोभन समेत दिइएको थियो । ‘मलाई स्पष्ट थाहा थियो की धीरज इण्डियन हो, र म प्रलोभनमा पनि परिन्’ उनले भने, ‘वर्तमान वडाध्यक्षले सिफारिस मात्रै दिएन, प्रहरी चौकीमा सर्जमिन मुलुल्का समेत तयार गराउनुभयो ।’ प्रलोभनमा परेर सिफारिस र सर्जमिन मुचुल्का उपलब्ध गराइएको उनको दावी छ ।

श्रीमान वैदेशिक रोजगारको लागि मलेसियामा रहेको फुलियादेवीले भान्जा धीरजलाई पनि वैदेशिक रोजगारमा पठाउने उद्देश्यले नागरिकता लिन लागेको नाम नछाप्ने शर्तमा एक स्थानीयले बताए । ‘प्रहरी चौकी पातोका र ४ जना स्थानीयलाई मिलाउन वडाध्यक्षले डेढ लाख रुपैयाँ लिएको रैंछ’, उनले भने ।

यद्यपी, वडाध्यक्ष भागेश्वर यादवले धीरज भारतीय नागरिक रहेको कुरा आफुलाई जानकारी नरहेकाले सिफारिस र सर्जमिन दिएको बताउँदै आइरहेका छन् ।

उता, प्रहरी चौकी पातोका सई सुनिल यादवले कामको चापका कारण समान्य छानवीन गरी सर्जमिन दिएको प्रतिक्रिया दिए । ‘दैनिक १०–१२ जना सर्जमिनका लागि आइरहनुहुन्छ, त्यसैले हामी समान्य छानविन गरी सर्जमिन गरी पठायौं, फेरी वडा कार्यालयको कागजात पनि पूर्ण थियो नि’ उनले भने, ‘कुनै खाले प्रलोभनको कुरा छैन्, बाँकी अनुसन्धान भइरहेकै छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस