मिटरब्याजी पीडितको आँसुको हरेक थोपामा हाम्रो साथ छ : मुख्यमन्त्री यादव

राजविराज – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हिँडेर काठमाडौं पुगेका र त्यहाँ पुग्न नसकि घरमै उकुसमुकुसमा परेका मिटरब्याजी पीडितहरुको समस्याप्रति आफु गम्भीर रहेको बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै मिटरब्याजीको समस्या मधेशबाट उठेपनि देशकै समस्या स्पष्ट गरेका हुन् । ‘एकातिर बैंकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिएपनि अर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाइ गाउँघरका कतिपय साहुकारहरुमा अत्याचार नै गर्ने द्रव्य पिचासी प्रवृति देखिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘शोषणविरुद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेश समेत मिलेर संयुक्त रुपमा काम गर्न, विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको छ ।’

मिटरब्याजलाई अपराध घोषणा गरी केन्द्र सरकारबाट गरिएको पहलको उनले विज्ञप्तिबाट स्वागत समेत गरेका हुन् । ‘यद्यपी, यसले समग्र समस्यालाई कति सम्बोधन गर्नेछ, गम्भीर भएर सोच्न जरुरी छ’ उनले भने, ‘विदेश जान वा अध्ययन गर्न वा अन्य भइपरि गर्जो टार्न ऋण खोज्ने नागरिकहरुलाई मिटरब्याजीहरुबाट बचाउँदै के कसरी सहयोग र सहकार्य गर्न सकिन्छ यसबारे ठोस गृहकार्य गरी ठोस नीति बनाउन जरुरी छ ।’

उनले वेदना बोकेर काठमाडौं पुगेका मिटरब्याजी पीडितहरुको हरेक पाइलामा प्रदेश सरकारको साथ रहेको बताए । ‘तपाईको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ । हामी जिम्मेवारीबाट भाग्न सक्दैनौं, भाग्दैनौ पनि तथापी यो प्रदेशको मात्र समस्या होइन’ उनले भने, ‘गरिब झन गरिब हुने, भएको सम्पति समेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाई आह्वान गर्दछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस