काप्र पण्डितको मालपोत मोह : सरुवा भएको महिना दिन, रमाना लिन अनाकानी

राजविराज, १४ मंसिर–कर्मचारी र लेखापढी व्यवसायी मिलेर भूमिसुधार तथा मालापोत कार्यालय, राजविराजलाई घुसखोरीको अड्डा नै बनाएको आरोप लागेको बेला कार्यालय प्रमुखको सरुवा भएको एक महिना हुन लाग्दा पनि रमाना लिन अनाकानी गर्ने गरेको पाइएको छ ।

‘मधेशलाइभ’लाई प्राप्त पत्रअनुसार शाखा अधिकृत (रा.प.तृतीय) कार्यालय प्रमुख शिवशरण पण्डितको गत कार्तिक १५ गते नै जिल्ला प्रशासन कार्यालय, रौतहट पदस्थापन भइसकेको छ । ‘मन्त्रालयको मिति ०८० कार्तिक १५ को निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा १५९१० बमोजिम तपाईलाई देहाय अनुसार पदस्थापन गरिएको’, गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाले सोही मितिमा ४–३७१ चलानी नम्वर उल्लेख गरी पत्र पठाएको छ । तर, एक महिना हुन लाग्दा पनि कार्यालय प्रमुख पण्डितले रमाना लिन मानेको छैन् ।

मालपोतमा घुस विना कामै हुँदैन’ बेलाबखत सेवाग्राहीले खुलेरै गुनासो गर्ने गरेको देखिन्छ । तर, कारबाही गर्ने–गराउनेतर्फ सरोकारबाला उदासिन देखिन्छ । पछिल्लो पटक गत सोमबार मात्रै जिल्लाको महादेवा गाउँपालिका–४ का योगेन्द्र प्रसाद साहले लेखापढी व्यवसायी र कर्मचारीको रबैयाले पीडित बनेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए ।

उनले गत आइतवार बुबा, आमाको नाममा दर्ता रहेको जग्गा नियमअनुसार सबै प्रक्रिया पुर्याएर आफ्नो नाममा जग्गा नामसारी गराउन खोज्दा मालपोतका कर्मचारी (खरिदार) महेश यादवले फायल हेरी अनाहकमा लोखापढी संघको नगदी रसिद काट्न लगाएको बताए । सो रकम के–का लागि हो भनेर सोध्दा फायल नै फ्याकेर हप्काएपछि आफुले बाध्य भएर ५ हजारको रसिद काट्नु परेको गुनासो गरे ।

साहले नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन मालपोत इकाई समिति, राजविराजका पदाधिकारी तथा कर्मचारीलाई कारबाही गरी सो रकम फिर्ता गराइ दिन प्रमुख जिल्ला अधिकारीसमक्ष माग राखे । हुन त नेपाल सरकारले ०७८ मंसिर १५ गतेदेखि नै भू–सेवा ९कम्प्युटर प्रणाली० मार्फत मालपोतका सबै कामकाज गराउने व्यवस्था मिलाएको छ भने सो अनुसार मालपोत सप्तरीमा समेत ०८० साउनदेखि भु–सेवाबाटै काम काज हुँदै आएको छ । तर, केही कर्मचारीहरुले घुसखोरीलाई सुरक्षित गर्नका लागि लेखापढी व्यवसायीलाई नै प्रयोग गर्दै आएकोले नियम विपरित कार्यालय परिसरभित्रै अड्डा जमाएका लेखापढीहरुले खुलेयाम असुली गर्दै आएको कर्मचारी श्रोतले नै बताउँछन् । ‘तल्लो कर्मचारीलाई मासिक २० देखि ५० हजार रुपैयाँसम्म उतैबाट आउँछ’ नाम नछाप्ने सर्तमा उनले भने, ‘माथिल्लो कर्मचारी र अन्य संरक्षकलाई पनि मासिक रुपमै पुग्छ ।’

कार्यालय प्रमुख पण्डितले डिजीकै आग्रहमा मालपोत राजविराज आएको साढे तीन महिनामै पदस्थापन गरिएको भन्दै आक्रोश व्यक्त गरे । ‘तर, रमाना लिन्नँ, जबसम्म कुनै अधिकृतस्तरका कर्मचारी यहाँ आउँदैन, तबसम्म म रमाना लिन्नँ । छाप्नु छ भन्ने छाप्नू ।’

लेखापढी व्यवसायीको कामै नरहेको पनि कार्यालय प्रमुख पण्डितले स्वीकार गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस