अख्तियारले समाउन खोज्दा पर्खाल नाघेर भागेका सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राजविराज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि घुस रकम र चेक फालि पर्खाल नाघेर भागेका सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

शुक्रवार आयोगले सामाजिक विकास इकाई कार्यालय राजविराजका तत्कालीन सव–इन्जिनियर अजय कुमार साफी भन्ने अजय रजकविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उपभोक्ता समितिको भवन निर्माण सम्बन्धी खाता रोक्का फुकुवा गर्नका लागि गत साउन ४ गते रजकले नगद १५ हजार तथा ५५ हजार रुपैयाँ बराबरको चेक लिइसकेको अवस्थामा अख्तियारको टोलीले छापा पारेका थिए । तर टोलीलाई हेर्नासाथ रकम लिइरहेका रजकले सो रकम र चेक फालि पर्खाल नाघेर भागेका थिए ।

रजकले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ७० हजार रुपैयाँ विगो कायम गरी सोही ऐन बमोजिम कैद सजाय मागदाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उता, कार्यालय श्रोतका अनुसार सव–इन्जिनियर रजकको गत असार ३१ गते नै करार सम्झौता समाप्त भइसकेको जनाएको छ ।

यो पनिः

अख्तियारले समाउन खोज्दा पर्खाल नाघेर भागे कर्मचारी, प्रमुख दुनियालाल सम्पर्क विहीन 

‘कमिसन’ प्रकरण : करार अवधि सकिए पनि ‘पिसी’ उठाउनै कार्यालय पुग्थे कर्मचारी

‘कमिसन’ प्रकरण : प्रमुखकै गाउँमा करोडको योजना, उपभोक्ता समिति अध्यक्षमा उनकै भाइ

Author:



क्याटोगरी छान्‍नुहोस