राजरङ्गशालाको स्तरोन्नत्ति प्रकरण : सर्वोच्च अदालत पुग्यो भ्रष्टाचार मुद्दा

राजविराज, १२ वैशाख । सप्तरीको राजविराजस्थित राजरङ्गशाला खेलमैदानको स्तरोन्नत्ति कार्यमा भएको भ्रष्टाचारको मुद्दा सर्वोच्च अदालत पुगेको छ ।

अख्यिार दुरुपयोग अनुसन्धान आयोगले बुधवार उक्त मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । आयोगले १९ असार ०७९ मा सात जना विरुद्ध विशेष अदालतमा उक्त मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा ०८० साउन ३२ गते विशेष अदालतले न्यू गहिल कन्स्ट्रक्सनका तत्कालिन सञ्चालक समेत रहेका राजविराज नगरपालिकाका मेयर भिमराज यादव, उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठ र जिल्ला समन्वय समिति सप्तरीका इन्जिनियर विकास श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।

उक्त मुद्दामा खेलकुद विकास समितिका तत्कालिन अध्यक्ष एजेट न्यासुर, उपाध्यक्ष धीरेन्द्र वर्मा, समितिका तत्कालिन कार्यालय प्रमुखद्वय महेन्द्रप्रसाद यादव र लक्ष्मण मण्डललाई भने सफाई दिइएको थियो ।

आयोगले सर्वोच्च अदालतमा गरेको पुनरावेदनमा भिमराज यादवबाहेकका हकमा विशेष अदालतको फैसला मिलेको नपाइदा उक्त फैसला प्रत्यर्थी प्रतिवादीहरुका हकमा सो हदसम्म त्रुटीपूर्ण भएकोले बदर गरी मागदावीअनुसार सजायको लागि माग गरिएको छ ।

‘सम्मानित विशेष अदालत काठमाडौंबाट प्रतिवादीहरुमध्ये भिमराज यादवले अभियोग मागदाबी अनुसारको कसुरमा सजाय पाइसकेकोले निजको हकमा बाहेक अरु प्रतिवादीहरुमध्ये उदय श्रेष्ठ र विकास श्रेष्ठको हकमा बिगो समेत कम कायम गरी दाबीको कसुरमा पनि आंशिक कसुर गरेको ठहर्याई र अन्य प्रतिबादीहरूमध्ये एजेट न्यासुर, धिरेन्द्र वर्मा, महेन्द्र प्रसाद यादव र लक्ष्मण मण्डलको अभियोग दाबीवाट सफाई दिई नीजहरुका हकमा निर्णय गर्ने वा खर्च गर्न अख्तियार प्राप्त अधिकारी आफुले गरेको कार्यको दायित्व लिनचाहि नपर्ने तर मातहतका ब्यक्तिहरुलाई मात्र जिम्मेवार बनाउँदा सरकारी कामकार्वाही कानून सम्मत ढंगले नचल्ने स्थिति आउन सक्नेतर्फ अनदेखा भएको र ने.का.प. २०६८ अंक ६ निर्णय नं ८६३६ को मुद्दामा प्रतिपादीत नजिर बिपरित हुने गरी बिशेष अदालतले गरेको उक्त फैसला मिलेको नपाईंदा उक्त फैसला प्रत्यर्थी प्रतिवादीहरुका हकमा सो हदसम्म त्रुटीपूर्ण भएकोले वदर गरी अभियोग मागदाबी बमोजिमको कसुरमा पुनराबेदन पत्रमा कायम बिपक्षहरुका हकमा अभियोग मागदाबी बमोजिम सजाय गरी पाउन सम्मानित सर्वोच्च अदालत समक्ष प्रस्तुत जिकिर लिई पुनरावेदन पत्र दर्ता गरिएको ।’, पुनरावेदन पत्रमा उल्लेख रहेको छ ।

यो पनिः

खेलमैदान स्तरोन्नति कार्यमा भ्रष्टाचारः मेयर भिमराजसहित ७ जनामाथि मुद्दा दायर

मेयर भिमराज पदबाट निलम्बित हुने

खेलमैदान स्तरोन्नति कार्यमा भ्रष्टाचारः मेयर भिमराजसहित ७ जनामाथि मुद्दा दायर

राजविराजका मेयर भीमराजसहित ३ जना भ्रष्टाचारी ठहर, ४ जनाले पाए सफाइ

Author:



क्याटोगरी छान्‍नुहोस