काठमाडौं, १९ चैत । प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ।
चैत १५ गते तीनकुनेमा आयोजित कार्यक्रममा भएको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोड घटनामा संलग्न भएको आरोपमा ती २४ जनालाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ पर्नेहरुको सङ्ख्या ६५ पुगेको छ ।
उनले भने, “उक्त घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ परेका छन्। यसअघि ४१ जनालाई पक्राउ गरिएको थियो, जसको म्याद थप गरी अनुसन्धान भइरहेको छ।” पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।