निता थापा
लोकतन्त्रमा प्रेसलाई राज्यको चौथो अङ्ग मानिन्छ। समाजमा लुकेका बेथिति, भ्रष्टाचार र अनियमिततालाई निर्भीक भएर बाहिर ल्याउनु र जिम्मेवार निकायलाई जवाफदेही बनाउनु पत्रकारिताको मूल मर्म हो। तर, पछिल्लो समय क्यामेरा र माइक हातमा पर्नेबित्तिकै जो कोहीले आफूलाई कानुनभन्दा माथि सम्झने र पत्रकारिताको नाममा अराजकता मच्चाउने जुन प्रवृत्ति मौलाएको छ, त्यसले समग्र पेसालाई नै लज्जित बनाएको छ।
कुनै पनि सार्वजनिक निकाय वा व्यक्तिलाई प्रश्न गर्न पाइन्छ। सुशासन र पारदर्शिताका लागि प्रश्न गर्नु नागरिकको नैसर्गिक अधिकार पनि हो। तर, प्रश्न गर्ने शैली कस्तो हुने? के प्रश्न सोध्ने नाममा जो कोहीमाथि भौतिक आक्रमण गर्ने, कठालो समात्ने, अभद्र र असभ्य भाषाको प्रयोग गर्ने छुट कसैलाई छ? पक्कै छैन। जब एक ‘पत्रकार’ सत्यतथ्यको खोजी गर्न छोडेर आफैँ न्यायाधीश बन्न खोज्छ र सार्वजनिक स्थलमै (त्यसभन्दा पनि गम्भीर, साना बालबालिकाहरूको अगाडि) तमासा देखाउन थाल्छ, तब त्यो पत्रकारिता रहँदैन, त्यो केवल ‘अराजकता’ र ‘गुण्डागर्दी’ बन्न पुग्छ।

नेपालमा थुप्रै यस्ता आदरणीय पत्रकारहरू हुनुहुन्छ, जसको तर्कपूर्ण प्रस्तुति, शालीन भाषा र तथ्यपरक अनुसन्धानले समाजलाई सही बाटो देखाएको छ। उहाँहरू प्रश्न सोध्दा पनि मर्यादाको ख्याल गर्नुहुन्छ, किनकि उहाँहरूलाई थाहा छ— सञ्चारकर्मीको हतियार भनेको उसको तर्क र तथ्य हो, न कि उत्तेजना र धम्की। तर, आज सामाजिक सञ्जाल र भ्यूजको खेती गर्ने होडबाजीमा केही व्यक्तिहरूले पत्रकारिताको इथिक्स (Ethics) र क्राइटेरिया (Criteria) लाई कुल्चिएर जसरी सस्तो लोकप्रियता वा ‘बार्गेनिङ’ का लागि क्यामेराको दुरुपयोग गरिरहेका छन्, त्यसले आम मानिसलाई ‘आकासबाट खसे जस्तो’ स्तब्ध बनाएको छ।
हरेक पेसाको आ–आफ्नै मर्यादा र आचारसंहिता हुन्छ। पत्रकारिता जस्तो गरिमामय पेसा झनै संवेदनशील हुनुपर्छ। क्यामेरा बोक्दैमा कसैको पनि व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने वा कानुन हातमा लिने अधिकार प्राप्त हुँदैन। गलत गर्नेलाई कारबाही गर्ने निकायहरू (जस्तै: अख्तियार, प्रहरी, प्रशासन) राज्यमा छन्। पत्रकारको काम प्रमाण जुटाएर ती निकायलाई झक्झकाउने हो, आफैँ सडकमा दण्ड दिन तम्सिने होइन।
तसर्थ, अब राज्यका सम्बन्धित निकाय र प्रेस काउन्सिल जस्ता संस्थाहरूले यस्ता घटनालाई गम्भीरतापूर्वक लिनैपर्छ। पत्रकारिताको खोल ओढेर ब्ल्याकमेलिङ गर्ने, धम्काउने, समाजमा अशान्ति फैलाउने र पेसागत मर्यादाको धज्जी उडाउने यस्ता कथित ‘अराजक पात्र’ हरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ। क्यामेरा र माइकलाई ‘हतियार’ बनाएर समाजमा आतङ्क सिर्जना गर्ने छुट अब कसैलाई दिइनु हुँदैन। स्वतन्त्र प्रेसको रक्षाका लागि पनि यस्ता अराजकतालाई बेलैमा निरुत्साहित गर्नु अपरिहार्य भइसकेको छ।