‘जग्गा अतिक्रमण गरे, खाली गर्न भन्दा कुटपिटमा परे’

राजविराज, २१ भदौ । जग्गा विवादमा स्थानिय न्यायिक समितिदेखि प्रहरी कार्यालय धाउदा समेत न्याय नपाएको भन्दै सप्तरीका एक पीडितले सञ्चारकर्मी गुहारेका छन् ।

तिरहुत गाउँपालिका–५ लोहजाराका मुनेश्वर मण्डलले सोमवार पत्रकार सम्मेलनमार्फत आफु अन्यायमा परेको दुखेसो गरेका हुन् । ‘छिमेकी सुवालाल मण्डलले आफ्नो जग्गा अतिक्रमण गरेको र खाली गर्न भन्दा कुटपिट समेत गरे’ उनले भने–‘गत साउन २५ गते जग्गा खाली गर्न भन्दा उनीहरुले आफ्ना परिवारका सदस्यहरुलाई निर्घात कुटपिट गरे ।’

सोपछि गाउँपालिकामा रहेको न्यायिक समिति र जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्दा समेत ती पक्षलाई कुनै कारवाही नभएको तथा आफ्नो जग्गा पनि खाली नगरेको उनको गुनासो छ । ‘घटनापछि हामीले जिल्ला प्रहरी कार्यालयमै आएर उजुरी दिए, यहाँबाट त्यहीका इलाकालाई घटना मिलाउन भनियो पनि’ उनले भने–‘स्थानीय भद्रभलादमी र प्रहरीको सहभागीतामा भएको छलफलबाट जग्गा खाली गर्ने सहमति भएपनि उनीहरुको अटेर अझैं कायमै छ ।’

बाध्य भएर आफुलाई सञ्चारकर्मी गुहार्नु परेको मण्डलको कथन छ । ‘अब कोसँग न्यायको गुहार गर्ने? आफ्नो ५ धुर नम्बरी जग्गा अतिक्रमणमा परेको छ’ उनले भने–‘न्याय दिलाउने पक्षमा पहल गरिदिनुहुन सम्बन्धित सबै पक्षमा आग्रह छ ।’

गाउँपालिकाका उपाध्यक्ष समेत रहेका न्यायिक समितिकी संयोजक तिर्थमाया मण्डलले निवेदन परेसँगै सो स्थानमा अमिन र वकिल खटाइएको बताइन् । ‘नापजाँचपछि सिमाना छुट्याउने क्रममा प्रतिवादीले नमानेका कारण सो कार्य अवरुद्ध भयो’ उनले भनिन्–‘फेरी हामीले प्रतिवादीसहित वादीलाई पनि बोलाएका छौं, अझैं नमानेको खण्डमा कानून अनुसार हामी अघि बढ्छौं ।’

उता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले कुटपिट घटनाबारे आवश्यक कुरा बुझ्ने कार्य भइरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस