सिद्धान्त नभएका बहुरुपियाहरुबाट सावधान रहौंः जसपा नेता यादव

जनकपुरधाम, २१ भदौ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले बिचार र सिद्धान्त नभएका बहुरुपियाहरुबाट सावधान रहन आम जनतासँग आग्रह गरेका छन् ।

सोमबार ‘मधेशलाइभ’सँग कुराकानी गर्दैै उनले जसपाबाट अलग भई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सञ्चालन गर्ने नेताहरुलाई बिचार र सिद्धान्त केही नभएका बहुरुपियाहरुको जमात भएको आरोप लगाएका हुन् । जनताको बलिदानीबाट प्राप्त उपलब्धीलाई नै समाप्त पार्न खोज्नेहरुको साथ दिएर प्रतिगमनकारीहरुलाई सघाएको बताउँदै उनले भने ‘बिचार र सिद्धान्त नै नभएका बहुरुपियाहरुबाट आम जनता सचेत रहनुपर्दछ ।’

पार्टी समायोजनको क्रममा रहेको अवस्थामा तत्कालिन राजपाबाट आएका नेताहरुले केपी शर्मा ओलीको प्रतिगमनलाई सघाएर कलंकित पार्ने काम गरेको उनले बताए । महन्थ ठाकुर, महतो लगायतकाले दक्षिणपन्थीको ईशारामा प्रतिगमनको मतियारलाई सघाएको चर्चा गर्दै उनले भने ‘बैचारिक विचलन र सत्ता स्वार्थकै कारण ठाकुर महतोहरुले पार्टीलाई समेत तहस नहस पारेर १८ दिने मन्त्री बनेको कुरा आम जनतालाई थाहा छ ।’

जसपा नेता यादवले बैचारिक बिचलन आएकाहरु लोसपामा जाने गरेकोले त्यस्ता व्यक्तिहरु पाखा लागेपछि पार्टीमा शुद्धिकरण भएको दावी गरे । आगामी निर्वाचनमा समेत लोभी पापी प्रतिगमन विरोधीहरुसँग सहकार्य नहुने जानकारी दिँदै उनले भ्रमको खेती गरेर भएभरको बुता लगाए पनि अस्तित्व कायम नरहने बताए । समावेशी, लोकतन्त्र, न्याय र समानताका पक्षधरहरुको साझा थलो एकमात्र जसपा नै भएको बताउँदै उनले थपे ‘आम जनता अग्रगमन र परिवर्तनको पक्षमा रहेकोले आगामी निर्वाचनमा जनताले प्रतिगमनका मतियारहरुलाई तह लगाउनेछन्, अब धेरै समय पनि बाँकी छैन ।’

Author:



क्याटोगरी छान्‍नुहोस