‘सीधै जननिर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ’

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सीधै जननिर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने बताएकाका छन्।

जसपा पर्साले वीरगञ्जमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भएको सांसद चुनिएर सरकार बनाउने व्यवस्थालाई खारेज गरेर सीधै जननिर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने तथा राष्ट्रपतीय सरकारको निर्माण हुनुपर्ने बताए।

जनताले आफ्नो हक अधिकारका लागि लड्न क्षेत्रको विकास गर्नका लागि धेरै मिहिनेत गरेर सांसदलाई जिताएर पठाउने गरेको बताए। ‘अहिले भएको सांसद चुनिएर सरकार बनाउने व्यवस्थालाई खारेज गरेर सीधै जननिर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ, यादवले भने, ‘जब तपार्इंहरूको प्रतिनिधि खसी, बाख्रा र कुखराको मूल्यमा काठमाडौंमा बिक्री भएपछि कस्तो लाग्छ ?’

अहिलेको व्यवस्थामा एक सांसद पनि यताउता हुँदा सरकार परिवर्तन हुने गरेको बताउँदै उनले राति सांसद गन्ती गरेर सुत्दा पनि बिहान ती सांसद बिक्री भएको वा चोरी भएको भनेर खोज्नुपर्ने अवस्था रहेको जिकिर गरे।

यस्तो अवस्था देशमा रहेसम्म देश विकास सम्भव नहुने यादवको भनाइ थियो। संसदीय निर्वाचन पूर्ण समानुपातिक भए संसद्बाट सरकार नबन्ने भएपछि सरकार ढल्ने सम्भावना नरहने यादवको कथन थियो।

अहिलेको निर्वाचन प्रणाली निकै महँगो भएको उनले बताए। पैसा नभएपछि जति राम्रा नेता समाजसेवी भए पनि चुनाव लड्न नसक्ने उनको भनाइ छ। न्याय प्रणालीमा पनि व्यापक सुधारको आवश्यकता रहेको यादवले आँैल्याए।

Author:



क्याटोगरी छान्‍नुहोस