छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छः राष्ट्रपति भण्डारी

काठमाडौं, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

छठका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराई क्षेत्रमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ संसारकै मौलिक पर्वका रुपमा रहेको बताएका छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष नेपाल विविध धर्म, संस्कार र संस्कृतिले समृद्ध रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले विविधतायुक्त नेपाली संस्कार संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ समेत गर्दै आएको बताएका छन् ।

उपराष्ट्रपति पुनले विश्वव्यापी कोराना महामारीको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाको नियम पूर्ण पालना गरी छठ मनाउन सबैमा आग्रहसमेत गरेका छन्।

यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

छठ पर्वका अवसरमा उनले शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गरेका छन् । साथै उनले यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस