जनमत पार्टीको प्रदर्शनः दुई जना घाइते, आधा दर्जन पक्राउ

राजविराज, १५ पुस । किसानहरुको समस्यालाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलित डा.सीके राउत नेतृत्वको जनमत पार्टीले विहिवार सप्तरीमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको छ ।

पूर्व निर्धारित कार्यक्रमअनुसार विहानैदेखि पार्टीका नेता/कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्ग अन्तर्गत भारदह, कंचनपुर, रुपनी, कठौना, कल्याणपुरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले सडकमै टायर बालेर प्रदर्शन गरेका छन् भने प्रदर्शनका कारण केही घण्टा यातायात समेत ठप्प भएको छ ।

सोही क्रममा प्रहरीले लाठी चार्ज गरी आधा दर्जनबढी नेता/कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लाठीचार्जबाट दुई जना कार्यकर्ता घाइते भएको पार्टीका जिल्ला सचिव थानेश्वर साहले जानकारी दिए ।
उनका अनुसार रुबी शर्मा र एकामनी पण्डित घाइते भएका छन् । दुवै जनाको उपचारको लागि भारदह अस्पतालमा भर्ना गरिएको उनले बताए ।

यसैगरी भोगन्द्र शर्मा, राजेश यादव, सुरेन्द्र मण्डल, सदानन्द मुखिया, कृष्णा मण्डल र श्याम मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यता, सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेसँग सोबारे बुझ्््न खोज्दा फोन उठेन ।

पार्टीले किसानहरुको समस्यालाई समाधानको लागि उच्चस्तरिय समिति गठन गर्नुपर्ने, मलखाद र बिउको व्यवस्था हुनुपर्ने, सिंचाईको ब्यवस्था हुनुपर्ने, निशुल्क बिजुली दिनुपर्ने, हावाहुरी र वर्षाले क्षति भएको बालिनालीको क्षतिपुर्ति दिनुपर्ने, बालीको उचित समर्थन मुल्य निर्धारण तथा उखु किसानको भुक्तानी दिनुपर्ने माग गर्दै आन्दोलन थालेको छ ।

त्यसैगरी किसानका लागि कार्डको व्यवस्था हुनुपर्ने, बालिनालीको बिमा, किसानलाई पेन्सनको व्यवस्था तथा किसानहरुमाथि दमन, झुठा मुद्दा खारेज लगायत आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई रिहाई हुनुपर्नेमा माग राखेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस