भारदह(सप्तरी), ८ कार्तिक – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा आजसरसफाइ कार्यक्रम गरिएको छ ।
दशैंको दस दिने अवधिमा मन्दिर परिसरमा जम्मा भएको फोहोर स्थानीय ओम ट्रेडर्सको अगुवाइमा सरसफाइ गरिएको हो ।
ट्रेडर्सका सञ्चालक चन्दनकुमार कापैरको नेतृत्वमा परिवारका सम्पूर्ण सदस्यसहित सहयोगीहरुको सहभागितामा मन्दिर परिसरलाई सरसफाइ गरिएको छ ।
बलि निरन्तर
प्रसिद्ध उक्त मन्दिरमा दशैंको महानवमीका दिन ६ सय ३ वटा रांगाको बलि प्रदान गरिएको छ ।
रांगा बलिकालागि मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट एक नम्बरमा स्थानीय मनिष(छोटु) झाको रांगा बलि प्रदानभएको थियो ।
रांगा बलिअघि हुने संकलप पुजाको अवसरमा स्थानीयबासिन्दा एवं नागरिक समाज काठमाण्डुका अगुवा गणेशकुमार मण्डलको सक्रियतामा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पबृष्टि अर्थात् फुल बर्साईएको थियो ।
भक्तजनले गरेको भाकल पूरा भएपछि कंकालिनीमा रांगाको बलि दिने चलन रहिआएको छ । सोही क्रममा दशैं भरि यहाँ करिब ४१हजार खसीबोकाको बलि समेत भएको भारदहका वडाअध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए ।
गतवर्ष कंकालिनी मन्दिरमा ६ सय ६९ वटा रांगाको बलि प्रदान गरिएको थियो भन्ने त्यसको अघिल्लो वर्ष ७ सय ४४ वटा रांगाको बलिदिईएको थियो ।