मधेश कृषि विश्वविद्यालयमा आर्थिक अनुशासनहीनता

राजविराज, १ साउन–जनमत पार्टीका नेता कार्यकर्ताले मधेश कृषि विश्वविद्यालयमा आर्थिक अनियमितता भइरहेको आरोप लगाइरहदा विश्वविद्यालयमा सुशासन मिच्ने कार्य भएको पाइएको छ ।

विश्वविद्यालयमा आर्थिक वर्ष ०७९/०८० मा असुलउपर गर्नुपर्ने बेरुजु रहेको पाइएपछि सुशासन मिचेको विषय बाहिरिएको हो । सो वर्ष विश्वविद्यालयमा ८ लाख ८४ हजार रुपैयाँ प्रमाण कागजात विनै भुक्तानी गरेको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख रहेको छ ।

तीमध्ये १ लाख ५८ हजार रुपैयाँ असुलउपर गर्नुपर्ने बेरुजु रहेको छ भने ७ लाख २६ हजार रुपैयाँको प्रमाण कागजात पेश गर्नुपर्ने प्रतिवेदनमा सुझाइएको छ ।

जनमत पार्टीका नेता कार्यकर्ताले उपकुलपति डा.वैद्यनाथ महतो र रजिष्टार डा. ठाकुरले डिपिआर, विश्वविद्यालयको भवन निर्माणको ठेक्कापटामा मिलेमतो लगायतका कार्यमा आर्थिक अनियमितता गरेको आरोप लगाउँदै गत माघ ७ गते विश्वविद्यालयमा तालाबन्दी गरेको थियो ।

उता, विश्वविद्यालयका रजिष्टार डा.श्रीभगवान ठाकुरले नीतिगत बेरुजु मात्र रहेको बताए । ‘काम गर्ने पार्टीले तिर्नुपर्ने केही रकम बेरुजु देखिएको छ’ उनले भने, ‘केही फछ्र्यौट भइसकेको छ र बाँकी लेखाले पहल गरिरहेको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस