काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी आज दिउँसो प्रज्ञा भवन परिसरबाट पक्राउ परेपछि केही घण्टामै रिहा भएका छन्। सर्वोच्च अदालतको नाममा लेखिएको अनधिकृत पत्रका आधारमा चौधरीलाई पक्राउ गरिएको थियो, तर उक्त पत्र अनधिकृत ठहरिएपछि अदालतको निर्देशनमा उनलाई रिहा गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले अनधिकृत रूपमा पत्र लेखेका थिए। उक्त पत्रको आधारमा चौधरीलाई डिल्लीबजार कारागारमा पठाइएको थियो। तर, अदालतले उक्त पत्र अनधिकृत भएको जानकारी गराएपछि चौधरीलाई रिहा गरिएको हो ।
सर्वोच्च अदालतले चौधरीलाई थुनामुक्त गर्न डिल्लीबजार कारागार कार्यालयलाई आधिकारिक पत्र पठाएको थियो। प्रवक्ता बोहराले भने, “नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गरिएको छ। अनधिकृत पत्र लेख्ने महिमानसिंह विष्टलाई नियन्त्रणमा लिइएको छ।”
चौधरी आज जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका थिए। सोही अवसरमा उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।