सिरहा, २९असार । सिरहा जिल्लाको औरही गाउँपालिका–५ मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक बीरेन्द्र कुमार पासवानका अनुसार पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय राम उदगार मलाह हुन्। उनलाई विशेष सूचनाका आधारमा शुक्रबार राति गाँजासहित नियन्त्रणमा लिइएको हो।
सूचना अधिकारीका अनुसार मलाहले प्रदेश २–०१–००३ प २१५४ नम्बरको मोटरसाइकलमा सातवटा पोकोमा लुकाएर कुल २१२ किलो ९२५ ग्राम गाँजा बोकेको अवस्थामा फेला परेका थिए।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले सो गाँजा बरामद गरेको हो। प्रहरीले गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
घटनास्थलमा प्रहरी देखेपछि अन्य केही व्यक्ति गाडीसहित फरार भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।