एलएलबी परीक्षा केन्द्र सारिएकोमा राजविराजमा प्रदर्शन

रामशंकर भण्डारी
राजविराज, ६, साउन । सप्तरीको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा अध्ययनरत एलएलबी दोस्रो वर्षका विद्यार्थीहरूले परीक्षा केन्द्र सिरहाको जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा सारिएको विरोधमा प्रदर्शन गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत बुधबारदेखि सञ्चालन हुन लागेका नियमित तथा आंशिक परीक्षाहरूको केन्द्र लहान सारिएको सूचना सार्वजनिक भएपछि मबिब क्याम्पसका विद्यार्थीहरू आन्दोलित भएका हुन् । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को अगुवाइमा मंगलबार बिहान क्याम्पस परिसरमै टायर बालेर विरोध प्रदर्शन गरिएको हो ।

स्ववियु सभापति रञ्जित यादवका अनुसार, मबिब क्याम्पसमा एलएलबी दोस्रो वर्षमा अध्ययनरत करीब ४ सय परीक्षार्थी छन् । तीमध्ये करिब ३ सय नियमित र १ सय आंशिक विद्यार्थीलाई लहान पुगेर परीक्षा दिनुपर्ने स्थिति आएको छ । उनले भने “राजविराजजस्तो सुविधासम्पन्न क्याम्पसमा पर्याप्त भवन र पूर्वाधार हुँदाहुँदै परीक्षा केन्द्र सारिनु यहाँका विद्यार्थीमाथिको अन्याय हो ।”

त्रिवि प्रशासनमाथि बदनियतपूर्ण निर्णय गरेको उनको आरोप छ । “त्रिविको आंगिक क्याम्पसका विद्यार्थीलाई निजी क्याम्पसमा परीक्षा दिन बाध्य तुल्याउनु गलत भएकोले अपमानजनक र पूर्वाग्रही निर्णय तुरुन्त फिर्ता लिइएन भने आफूहरु कडा आन्दोलनमा जान बाध्य हुने स्ववियू सभापतिले चेतावनी दिएका छन् । यसअघि पनि मबिब क्याम्पस अन्तर्गत विज्ञान संकायको परीक्षा केन्द्र लहान सारिएको विषयमा असन्तुष्ट विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस