रौतहट, ६ साउन । रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोलानजिक प्रहरीले मंगलबार बिहान ब्रेजा कारबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारलाई चेकजाँचका लागि रोक्न खोज्दा चालकले गाडी नरोकी भाग्न थालेका थिए । प्रहरीले पछ्याउँदा झाझ खोलानजिक पुगेपछि चालकले गाडी करिब २० फिट गहिरो खेतमा खसालेर फरार भएका छन् ।
प्रहरीले उक्त गाडीबाट बाक्लो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ठूलो परिमाणको गाँजा बरामद गरेको जनाएको छ । फरार चालकको खोजी भइरहेको छ भने, प्रहरीले गाडी र बरामद सामग्री नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, यो घटनामा संगठित लागू औषध गिरोहको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।
