वर्षा नहुँदा सप्तरीमा मात्र ३५ प्रतिशत रोपाइ (हेर्नुहोस् रिपोर्ट)

दिपा यादव
विष्णुपुर, ६ साउन । साउनको पहिलो साता वित्नैलाग्दा पनि पर्याप्त वर्षा नहुँदा हालसम्म ३५ प्रतिशत मात्र रोपाइ भएको छ ।

वर्षा हुन ढिलाइ भएका जिल्लाका अधिकांश खेत खाली नै रहेको तथा बीउ समेत खेतमै सुक्न थालेको छ । गत वर्ष यो समयमा लगभग सकिन लागेकोमा यो वर्ष रोपाइ नै गर्न नसकेको रुपनी गाउँपालिका वडा नम्बर ४ का किसान मुकेश मण्डल दुःखेसो सुनाउँछन् । विद्युतीय मोटरबाट चार–पाँच कट्ठा खेत रोपिए पनि पानी अभावले थप रोपाइ हुन नसकेको बताउँदै उनी थप्छन्– ‘मोटरको पानी दुई दिनमै सुकिहाल्छ, वर्षा नभए थप रोपाइ गर्नसक्ने अवस्था छैन ।’ मोटरमा पनि अत्यन्तै कम पानी आउने गरेकोले मोटरको भरमा खेती गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

यस्तै दुःखेसो सुनाउँछन् विष्णुपुर गाउँपालिका वडा नम्बर १ का अर्का किसान रामनारायण शर्मा । केही खेतमा नहरको पानीले रोपिए पनि सबै खेतमा पानी पुग्ने अवस्था नरहेकोले वर्षा हुने आशमा बस्न बाध्य भएको उनी बताउँछन् । अबको केही दिनमा पनि रोपाइ गर्न नसकिए खेत बाँझै रहन सम्भावना बढ्दो छ ।

मुकेश र रामनारायण प्रतिनिधि पात्र मात्र हुन् । सप्तरी जिल्लाको खेत रोपाइबारे किसानहरुको पीडा उस्तै छ । गत वर्ष साउनको पहिलोसातासम्म सप्तरीमा करिब ८५ प्रतिशत रोपाइ भइसकेकोमा यसपाली मात्र ३५ प्रतिशत रोपाइ भएको कृषि ज्ञान केन्द्रका प्रमुख किसुन देव राउत बताउँछन् ।

उनका अनुसार सप्तरी जिल्लाको रुपनी गाउँपालिका, कञ्चनरुप, शम्भुनाथ, खडक, डाक्नेश्वरी र सुरुङ्गा नगरपालिका सबभन्दा कम अर्थात करिब पाँच प्रतिशत मात्र रोपाइ भएको छ । रोपाइको समय साउनभरी रहे पनि अझैं एक दुई हप्तामा पानी नपरे करिब ४० प्रतिशत मात्र रोपाइ हुने कृषि ज्ञान केन्द्रका प्रमुख राउतको भनाइ छ ।

उनका अनुसार सप्तरी जिल्लामा खेतीयोग्य ८१ हजार ६ सय ६८ हेक्टर रहेको छ भने धान खेती ६८ हजार हेक्टरमा हुँदैआएको छ ।

हेर्नुहोस् रिपोर्ट:

Author:



क्याटोगरी छान्‍नुहोस