जसपा सप्तरीको अध्यक्ष पदमा केदार र उमेश बीच प्रतिष्पर्धा

राजविराज, १७ साउन — जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको नयाँ जिल्ला नेतृत्व चयनका लागि अध्यक्ष पदमा दुई प्रमुख नेताबीच प्रतिस्पर्धा हुने भएको छ ।

वर्तमान अध्यक्ष केदार प्रसाद यादव र उपाध्यक्ष उमेश प्रसाद यादवले शनिबार छुट्टाछुट्टै प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । राजविराजस्थित पार्टी कार्यालयमा जिल्ला निर्वाचन समितिमा मनोनयन दर्ता गर्ने क्रममा केदार यादवले बिहान ९ः२१ बजे र उमेश यादवले बिहान ९ः५७ बजे उम्मेदवारी दर्ता गराएका छन् ।

केदार यादवको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण यादव, महिला उपाध्यक्षमा उषा साह, सचिवमा शम्भु कुमार यादव, उपसचिवमा रिता कुमारी चौधरी र रामेश्वर कौडगिया तथा कोषाध्यक्ष अर्मेन्द्र कुमार यादव (अरबिन्द)ले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी उमेश यादवको प्यानलबाट उपाध्यक्षमा हरेराम यादव, राजेश्वर राय, सचिवमा निरज मुक्ति, उपसचिवमा दाउद हुसैन, राहुल मण्डल र कोषाध्यक्षमा अभिनभ यादव (निकु)ले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला समिति चयनका लागि ७ पदाधिकारी खुला, २५ भूगोल र २५ समावेशी गरी ५७ सदस्य छानिनेछन् । विभिन्न पालिका र भातृसंगठनका ११५ प्रतिनिधिहरूले मतदान गर्नेछन् । मतदान साउन १८ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म हुने जनाइएको छ । शनिवारै १२ः०५ मा उम्मेदवार नामावली सार्वजनिक, १२ः१० देखि २ बजेसम्म मनोनयन फिर्ता, २ः३० देखि ३ः३० सम्म दावी–विरोध र साँझ ५ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस