सर्वोच्चको परमादेश विरुद्ध राजविराजमा विरोध प्रदर्शन

राजविराज, ३ भदौ । गौर घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतको परमादेश विरुद्ध मंगलबार राजविराजमा विरोध प्रदर्शन गरिएको छ ।

जसपा सप्तरीको अगुवाइमा शिवमन्दिरबाट सुरु भएको ¥याली नगर परिक्रमा गर्दै नेता चौकमा कोणसभामा परिणत भयो । कोणसभामा सम्बोधन गर्ने वक्ताहरूले सरकारले राजनीतिक प्रतिशोधका लागि गौर प्रकरणलाई पुनः जीवित तुल्याएको आरोप लगाए ।

उनीहरूले भूमि सम्बन्धी विधेयकमा जसपाले समर्थन नगरेको निहुँमा अध्यक्ष यादवलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको दाबी गर्दै “मधेशलाई मरुभूमि बनाउने विधेयक स्वीकार्य नहुने” चेतावनी दिए । त्यसैको आडमा राजनीतिक प्रतिशोध लिइने हो भने सशक्त आन्दोलनको घोषणा समेत गरे ।
कोणसभामा जसपा सप्तरीका अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षतामा केन्द्रीय, प्रदेश र भातृ संगठनका नेताहरूले सम्बोधन गरेका थिए ।

सर्वोच्च अदालतको न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार गौर घटनामा अध्यक्ष यादवविरुद्ध अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको थियो । आदेश सार्वजनिक भएपछि जसपा कार्यकर्ता देशभर प्रदर्शनमा उत्रिएका छन् ।
तस्विर श्यामकुमार यादव/राजविराज

Author:



क्याटोगरी छान्‍नुहोस