रौतहट, ३ भदौ । सर्वोच्च अदालतले गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन आदेश दिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार गौरमा विरोध प्रदर्शन गरेको छ। जसपाले उक्त घटनालाई तत्कालीन माओवादीको हिंसात्मक गतिविधिबाट उत्पन्न राजनीतिक परिणाम भन्दै अध्यक्ष उपेन्द्र यादवलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको आरोप लगाएको छ।
गौरको बीपी चौकबाट सुरु भएको विरोध ¥याली नगर परिक्रमा गर्दै अदालत चौकमा पुगेर कोणसभामा परिणत भयो। कोणसभामा केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले “उपेन्द्र यादवमाथि गरिएको षड्यन्त्र खारेज गर”, “राजनीतिक मुद्दालाई कानुनी रंग नदेऊ” जस्ता नारा दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा रौतहट जिल्ला अध्यक्ष राजिव रंजन उर्फ राजु यादवले गौर घटनाको मुख्य योजनाकार तत्कालीन नेता प्रभु साह भएको दाबी गरे। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा विभिन्न भातृ संगठनका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रदर्शनकारीहरूले सरकारको इसारामा सर्वोच्च अदालतमार्फत राजनीतिक मुद्दा खोलिएको भन्दै आपत्ति जनाए। उनीहरूले अदालतले न्यायको साटो अन्यायलाई प्रश्रय दिएको आरोपसमेत लगाए।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन रौतहट प्रहरीलाई परमादेश दिएको थियो। उक्त आदेशपछि जसपा आक्रोशित बनेको हो।
२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीच भएको झडपमा २७ जनाको ज्यान गएको थियो। त्यसयता घटना निरन्तर राजनीतिक विवाद र आरोप–प्रत्यारोपको विषय बनेको छ।
जसपाले अध्यक्ष यादवको घटनासँग कुनै संलग्नता नरहेको स्पष्ट पार्दै यसलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा खोलिएको दाबी गरेको छ। पार्टीले लोकतन्त्र र न्यायपालिकामाथि प्रहार भएको आरोप लगाउँदै आगामी दिनमा थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
Pic. Rajkumar Das