सिरहा, २० भदौ । सिरहाकाे गोलबजार नगरपालिका–२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।
ट्रिनिटी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा स्थानीय मदन साहका छोरा आदर्श कुमार साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आदर्श सोही विद्यालयको ‘प्ले ग्रुप’ कक्षामा अध्ययनरत थिए। ग १ ख ३७८८ नम्बरको बस विद्यालयबाट घर फर्कने क्रममा आदर्शलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए।
उनका अनुसार बस चालक गोलबजार नगरपालिका–३ का विमल भुजेल घटना पछि फरार भएका छन्। प्रहरीका अनुसार उनी फरार रहेकाले खोजी भइरहेको छ। घटनापछि मृत बालकको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल लहान पठाइएको बताइएको छ। बस भने प्रहरीले नियन्त्रणमा लिएको छ।