राजविराजमा सप्तरी महोत्सव २०८२ असोज २२ देखि हुने

राजविराज, २१ भदौ – राजविराजमा आठ वर्षपछि तेस्रो सप्तरी महोत्सव २०८२ आयोजना हुने भएको छ।

यो महोत्सव सप्तरी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको हो। सप्तरी उद्योग वाणिज्य संघले शनिबार पत्रकार सम्मेलन गरी महोत्सव सम्बन्धी जानकारी दिइएको छ। संघका अध्यक्ष लालु प्रसाद अग्रवालले कार्यक्रममा बताए अनुसार, महोत्सव असोज २२ देखि कार्तिक ०६ गतेसम्म १५ दिनसम्म चल्नेछ। महोत्सवको प्रमुख उद्देश्य स्थानीय उत्पादनलाई प्रचारप्रसार गर्नु, उद्योग व्यवसायलाई प्रोत्साहन गर्नु र बजारसँग जोड्नु रहेको छ।

महत्वपूर्ण आकर्षणको रूपमा महोत्सवमा स्थानीय उत्पादन तथा सेवाहरूको प्रदर्शनी, ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया, स्थानीय कलाकार र सांस्कृतिक कार्यक्रम, साथै पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रका अवसरको खोजी लगायतका गतिविधिहरू गरिनेछ।

अग्रवालले महोत्सवमा १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता आउने अनुमान रहेको बताए। महोत्सवमा कृषि उपज, थारू र मिथिला खाना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति मुख्य आकर्षण रहनेछ। यसअन्तर्गत स्थानीय कलाकारहरू भुपेन्द्र कुमार मण्डल (रामलाल), विनय सोनु, भारती चर्चित कलाकार माही मनिसा, नेपाली चर्चित कलाकार दुर्गेश थापा लगायतले आफ्ना कला प्रस्तुत गर्नेछन्।

महोत्सवमा सहभागी हुनेहरूका लागि प्रवेश शुल्क १०० रुपैयाँ राखिएको छ। आवश्यक शान्ति सुरक्षाको व्यवस्था स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा मिलाइएको छ।

सप्तरी उद्योग वाणिज्य संघका महासचिव अमृत संचेतीले महोत्सव स्थानीय उद्योग र पर्यटन विकासमा फलदायी हुने विश्वास व्यक्त गरे। महोत्सवले राजदेवी, भगवती पोखरी, छिन्नामस्ता मन्दिर, कंकालिनी मन्दिर, शनि मन्दिर, शम्भुनाथ मन्दिर, साथै अग्नीसाइर–कृष्णासवरन गाउँपालिका २ स्थित त्रिरत्न गुम्बा जस्ता धार्मिक र पर्यटकीय स्थलहरूको प्रचार–प्रसार र विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तेस्रो महोत्सवमा जिल्लाका १८ वटै स्थानीय तह सह–आयोजक रहेका छन् भने नेपाल पत्रकार महासंघ सप्तरी शाखा मिडिया पार्टनर रहेको छ। महोत्सवमा स्थानीय उत्पादनका लागि निशुल्क स्टल र १५० भन्दा बढी शुल्क व्यापारीक स्टलको व्यवस्था गरिएको छ। आयोजकहरूले महोत्सवको दैनिक गतिविधि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए।

सप्तरी महोत्सव यसअघि २०६८ र २०७४ सालमा क्रमशः पहिलो र दोस्रो पटक आयोजना भइसकेको छ। pic. Brijman Tamang/News Today

Author:



क्याटोगरी छान्‍नुहोस