रौतहट । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ भने चार बालिका सकुशल पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीका अनुसार मृत्यु हुनेमा ईन्दल बैठाकी १३ वर्षीया आस्था कुमारी बैठा, नवल यादवकी १५ वर्षीया रजनी कुमारी यादव र रुपा बैठाकी १५ वर्षीया मौसमी कुमारी बैठा रहेका छन्।
राजदेवी नगरपालिका–८ लक्ष्मीपुर टोलका सात जना बालिकाहरू बिहान करिब पौने ११ बजे घाँस काट्न गौरतर्फ आउँदै गर्दा बाटोमा बाढीको पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए। उक्त सात बालिकामध्ये चार जना — १५ वर्षीया मुस्कान कुमारी राम, १३ वर्षीया मुस्कान कुमारी बैठा, १० वर्षीया चन्द्रमुखी कुमारी राम र १५ वर्षीया सुनिता कुमारी बैठा — सकुशल तैरिन सफल भएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले जानकारी दिएका छन्।
बेपत्ता तीन बालिकाको खोजीका लागि सशस्त्र प्रहरी बल गौर, जिल्ला प्रहरी कार्यालय रौतहट र नेपाली सेनाका टोलीहरू खटिएका थिए। सशस्त्र प्रहरी निरीक्षक गोपाल सहनी, प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनी र मेजरको कमाण्डमा विभिन्न टोलीहरूले उद्धार कार्य सञ्चालन गरेका थिए।
डुबेका तीनै बालिकालाई करिब पौने १२ बजे उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। तर, अस्पतालमा १२ बजेर ९ मिनेटमा चिकित्सकले तिनै बालिकालाई मृत घोषणा गरेका थिए।
घटना स्थल सशस्त्र प्रहरी बल गौर रौतहटको गार्ड कार्यालयदेखि करिब ५० मिटर पूर्वतर्फ पर्ने बताइएको छ। तीनै जनाको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
Pic. Social Media