सप्तरीमा लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ, अवैध पट्का समेत बरामद

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले पछिल्ला दुई छुट्टाछुट्टै अपरेसनका क्रममा लागुऔषध मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्नुका साथै अवैध रूपमा ल्याइएका डेढ लाख रुपैयाँ बराबरको पट्का बरामद गरेको छ ।

लागुऔषध (ब्राउन सुगर) मुद्दामा फरार रहेका अमन यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रतिवेदनअनुसार यादव काठमाडौंको बुढा थानकोटस्थित प्रहरी हिरासत कक्षबाट भागेका थिए ।

सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका–३ का २२ वर्षीय अमन यादवलाई प्रहरीले सोमबार बिहान करिब ८ बजे सप्तरीको रुपनी गाउँपालिका–६, बिरेन्द्र बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो । लागुऔषध कारोवारमा संलग्न रहेको अभियोगमा उनीविरुद्ध मुलुकी फौजदारी कार्यविधि अनुसार मुद्दा दर्ता गरिएको थियो । उनी २०८२  भदाै २४ गते नेपालभर जेन–जेड समूहले गरेको आन्दोलनको क्रममा हिरासतबाट फरार भएका थिए ।

पक्राउ परेका यादवलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौंस्थित बुढा थानकोट प्रहरी कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।
यसैबीच, सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका १ लाख ५३ हजार रुपैयाँ बराबरका पट्का पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा छापा मार्दा आतसबाजी, रकेट, चक्र, फूलझरीलगायतका निषेधित पट्काहरू बरामद भएका हुन् । ती सामग्री तस्करी गर्दै ल्याइरहेका व्यक्तिहरू प्रहरी टोली देख्नेबित्तिकै फरार भएका थिए । बरामद गरिएका पट्काहरू आवश्यक कानुनी प्रक्रिया पूरा गर्नका लागि कार्यालयमा ल्याइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रवक्ता पुरीका अनुसार चाडपर्वको समयमा सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले अवैध रूपमा पट्का आयात, बिक्री–वितरण तथा प्रयोगमा कडाइ गरेको छ । त्यस्ता कार्यमा संलग्न हुनेहरूलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस