राजविराज । मधेशका जिल्लाहरूमा अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व शनिबार ‘नहाय–खाय’सँगै सुरु भएको छ ।
यसदिन व्रतव्रतालुहरूले नुहाई-धुवाई गरी चोखो भोजन (अरबा–अरबाइन) ग्रहण गर्दै औपचारिक रूपमा व्रतको आरम्भ गरिएकाे छ । मिथिलाञ्चलमा विशेष महत्वका साथ मनाइने यो पर्व धार्मिक विधिअनुसार आइतबार ‘खरना’ गरिनेछ भने सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी, मंगल बिहान उदाउँदो सूर्यलाई ‘ओम् सूर्याय नमः, ओम् भास्कराय नमः’ मन्त्र उच्चारण गर्दै पूजा–अर्चना पश्चात् व्रत सम्पन्न गरिनेछ ।
सूर्यदेवको आराधनाद्वारा सुख, समृद्धि, सन्तानप्राप्ति तथा चर्मरोग निवारण हुने जनविश्वास छ । सत्य, अहिंसा र सहानुभूतिको सन्देश दिने यस पर्वप्रति श्रद्धालुहरूको आकर्षण वर्षेनी बढ्दो क्रममा छ । मिथिलाञ्चलका सिमित क्षेत्रहरूमा मनाइने छठ पर्व अहिले काठमाडौंसहित पहाडी जिल्लासम्म फैलिएको छ ।
छठका अवसरमा गहुँ र चामलको पीठोबाट ठकुवा, भुसवा, पेरुकिया, खजुरिया आदि परिकारहरू तयार गरिन्छ भने पूजाका लागि सुथनी, कसार, केरा, उखु, नरिवल, स्याउ, भोगटे जस्ता सामग्री राखिने चलन छ ।
पर्व नजिकिँदै गर्दा ग्रामीण भेगका पोखरी तथा तलावहरूमा पनि श्रद्धालुहरूले स्वस्फूर्त रूपमा सरसफाइ अभियान चलाइरहेका छन् ।
पर्वको नजिकिँदो माहोलसँगै बजारमा पनि चहलपहल बढेको छ । पूजामा प्रयोग हुने केरा, नरिवल, उखु, सख्खर, कोनिया, ढाकी आदि किन्ने भक्तजनको भिड देखिएको छ । व्यापारीहरूले यस वर्षको बिक्री–व्यापार उत्साहजनक रहेको बताएका छन् । Image: Madheshlive Desk
फोटो फिचर:








