अस्पतालमा निमित्त मेसु नपठाउन जेन–जी समूहको चेतावनी

राजविराज, १९ कातिक । जेन–जी समूह सप्तरीले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नपठाउन र दरबन्दीअनुसारकै मेसु नियुक्त गर्न माग गर्दै चारबुँदे ज्ञापनपत्र स्वास्थ्यमन्त्रीलाई पठाएको छ ।

समूहका प्रतिनिधिहरूले बुधबार प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत मन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । ज्ञापनपत्रमा मन्त्रालयले अस्पतालमा दरबन्दीभन्दा तल्लो तहका चिकित्सकलाई निमित्त मेसु बनाउने तयारी गरेको भन्दै त्यस कदमको विरोध गरिएको छ ।

उनीहरूले दरबन्दीअनुसारकै मेसु कायम गर्न, काजसरुवामा रहेका चिकित्सक र कर्मचारीलाई फिर्ता बोलाउन वा वैकल्पिक व्यवस्था मिलाउन माग गरेका छन् । साथै, अस्पताललाई शीघ्र तीन सय बेडका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराउन र विशेष स्वास्थ्य सेवा विस्तारका लागि मन्त्रालयले ठोस भूमिका खेल्न आग्रह गरिएको छ ।

जेन–जी समूहले संघीय सरकारले सञ्चालन गरेको उक्त अस्पताल जिल्लाको एकमात्र ठुलो अस्पताल भए पनि वर्षौंदेखि स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीको अभावले सेवामा असर परेको बताएको छ । तीन सय बेड क्षमताको भौतिक संरचना तयार भए पनि पचास बेड मात्रै स्वीकृत भएकाले सेवा सीमित रहेको समूहको भनाइ छ ।

ज्ञापनपत्रमा मन्त्रालय र केही कर्मचारीले व्यक्तिगत स्वार्थमा मेसु फेरबदल गर्दै आएको आरोप लगाइएको छ । दरबन्दीका मेसु हटाई तल्लो तहका चिकित्सकलाई जिम्मेवारी दिए सशक्त आन्दोलन गर्ने चेतावनी समूहले दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस