जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिता कुमारी राउत ईशरको कार्यकक्षमा दुई घण्टासम्म थुनिएका सात राजनीतिक दलका सांसदहरू बिहीबार साँझ प्रहरीको सहयोगमा बाहिरिएका छन् ।
उनीहरू सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपसहितको प्रस्ताव दर्ता गर्न उपसभामुखको कार्यकक्ष पुगेका थिए। प्रस्ताव दर्ताको क्रममा प्रदेश सभामा तीव्र तनाब उत्पन्न भएको थियो । सभामुख मण्डलले सचिवालयका कर्मचारीलाई प्रस्ताव दर्ता नगर्न निर्देशन दिएपछि सांसदहरूले आपत्ति जनाउँदै लामो रस्साकस्सी भएको थियो । अन्ततः कर्मचारीहरूले प्रस्ताव दर्ता गरेपछि अवस्था थप जटिल बनेको थियो ।
सांसदहरूले आरोप लगाएका छन् कि प्रस्ताव दर्ता गरेपछि सभामुख मण्डल र नेकपा (एमाले) का केही कार्यकर्ताहरूले उनीहरूलाई जबर्जस्ती उपसभामुखको कार्यकक्षमै थुनिदिए र केही सांसदमाथि हातपात समेत गरे । जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले परिस्थिति निकै असहज बनेपछि प्रहरी टोलीको सहयोगमा हामी कार्यकक्षबाट बाहिरिन सफल भएकाे बताए । तर सभामुख मण्डलले सबै आरोप अस्वीकार गर्दै आफूले कसैलाई बन्धक नराखेको दाबी गरेका छन् । यो घटनापछि प्रदेश सभाको राजनीतिक वातावरण थप तातिन पुगेकाे छ।