कात्तिक। मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भइसकेको केही दिनमै उनले पाँच जना सांसदलाई पदमुक्त गरेका छन् ।
लगातार प्रदेशसभा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै सभामुख मण्डलले उनीहरूलाई संविधानअनुसार कारबाही गरेका हुन् । पदमुक्त सांसदहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह तथा जनता समाजवादी पार्टी (जसपा) का मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर प्रसाद कलवार रहेका छन्। सभामुखले जारी गरेको सूचनामा उल्लेख छ— “प्रदेशसभा बैठकको अभिलेखका आधारमा नेपालको संविधानको धारा १८० अनुसार लगातार १० बैठकमा अनुपस्थित रहेका सदस्यहरूको स्थान रिक्त भएको सूचित गरिन्छ।”
संविधानको धारा १८० को उपधारा (घ) ले प्रदेशसभाको कुनै बैठकमा सूचना नदिई लगातार १० पटकसम्म अनुपस्थित रहेमा सो सदस्यको पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ। सोही प्रावधानलाई आधार मानेर सभामुख मण्डलले पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।
