काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो । सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएको केही छिनमै उनले नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जनता समाजवादी पार्टी (जसपा) का मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर प्रसाद कलवारलाई पदमुक्त गरेका थिए ।
अदालतको उक्त आदेशसँगै पाँचै जना प्रदेशसभा सदस्यहरूको पद यथावत रहने भएको छ । सभामुखको कदम विरुद्ध सांसदहरूले सर्वोच्चमा रिट दायर गर्दै सभामुखको कारबाही असंवैधानिक भएको दाबी गरेका थिए ।
अदालतले विपक्षी पक्षलाई कारण देखाउन आदेश गर्दै, जवाफ नआउँदासम्म रिटकर्तालाई सार्वजनिक पदबाट हटाउन नपाइने स्पष्ट पारेको छ ।