जनकपुरधाममा तीन दिन माछा-मासु र मदिरा बिक्रीमा प्रतिबन्ध

जनकपुरधाम । विवाहपञ्चमी महोत्सवलाई शान्त, मर्यादित र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जनकपुरधाममा तीन दिनसम्म माछा मासु तथा मदिरा किनबेचमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनाअनुसार ८ मंसिर राति १२ बजेदेखि १० मंसिर राति १२ बजेसम्म यस प्रकारका सबै गतिविधि निषेध रहनेछन्। सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालका अनुसार विवाहपञ्चमी महामहोत्सव (९ अगहन) का अवसरमा परिक्रमा क्षेत्र तथा परिक्रमा सडकका दायाँ–बाँयाँ क्षेत्रमा मदिरा बिक्री वितरण,पशुपन्छी वध, माछ–मासु किनबेच वा उत्पादन, तथा अन्य नशीला पदार्थ सेवन पूर्ण रूपमा निषेध गरिएको हो।

उक्त क्षेत्रभित्र प्रतिबन्धित कार्य भइरहेको फेला परेमा प्रचलित कानुनअनुसार कडाइका साथ कारबाही गरिने उनले स्पष्ट पारे।

आयोजित बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मिथिलाको सांस्कृतिक–धार्मिक पहिचान र पौराणिक परम्परालाई सुरक्षित राख्दै विवाहपञ्चमी महोत्सव व्यवस्थित बनाउन यो कदम चालिएको दाहालले बताए।

यसैबीच, महोत्सवका दिन कुनै पनि अप्रिय घटना नहोस् भनेर जनकपुरधाममा करिब दुई हजार नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।

Author:



क्याटोगरी छान्‍नुहोस