जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीकी २७ वर्षीया रोशनी झाको हत्यारालाई कार्वाहीको माग गर्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बसेका छन् ।
पति र ससुराले मारेको भन्दै उनीहलाई कार्वाहीको गर्दै सोमबार माइती पक्षले प्लेकार्ड धर्नामा बसेका हुन् । बिहीबार राति रोशनी मृत फेला परेकी थिइन् । ससुराली पक्षले आत्महत्या भएको दाबी गरे पनि माइती पक्षले हत्याको आरोप लगाउँदैआएको छ । सिँढीबाट लडेर रोशनीलाई टाउकोमा चोट लागेको भनी माइती पक्षलाई जानकारी दिइएको थियो । मृतक रोशनीको घाँटीमा निलडाम देखिएको थियो । पतिले दाइजोका लागि प्रताडित गर्दैआएको थियो ।
धनुषाको नगराइन गाउँपालिका–२ माइती भएकी रोशनीको चार वर्षअघि प्रशान्त मिश्रसँग विवाह भएको थियो । उनका पति प्रशान्त मधेश प्रदेशको नीति तथा योजना आयोगमा कार्यरत छन् ।
रोशनीका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन् । उजुरीका आधारमा प्रहरीले रोशनीका पति प्रशान्त मिश्र र ससुरा रुद्रनारायण मिश्रलाई आइतबार नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।
रोशनीका मामा प्रदीप चौधरीले घटना आत्महत्या नभई आफ्नी भान्जीको योजनाबद्ध हत्या भएको दाबी गरेका छन् । प्रमाण नष्ट गर्न उनका केही कपडा समेत जलाइएको उनको आरोप छ ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले मृतकको घाँटीमा डामको चिन्ह देखिए पनि पोस्टमार्टम रिपोर्ट आएपछि सत्यतथ्य आउने बताएका छन् ।