काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका पिता रामनारायण साहको आइतबार निधन भएको छ ।
स्वास्थ्य समस्या भएपछि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पु¥याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
पिसाबमा भएको संक्रमण शरीरभरि फैलिएर समस्या भएपछि आइतबार अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार चलिरहँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । दिवङ्गत साहका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
साह गुजरातबाट आयुर्वेद अध्ययन गरेका थिए । वरिष्ठ पत्रकार सीताराम अग्रहरीका अनुसार डाक्टर साह एक असल आयुर्वेद चिकित्सक थिए। उनीसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको चर्चा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्–आयुर्वेदमा मेरो गहन रुचि थियो । गोरखापत्र र युवा मञ्च सम्पादक हुँदा उहाँका धेरै सल्लाहहरू हाम्रो पाठकलाई उपलब्ध भएको छ ।
वरिष्ठ पत्रकार अग्रहरीका अनुसार गोरखापत्र छाडे पनि हाम्रो परिवारको लागि निजी तवरमा उहाँका सल्लाहहरू उपलब्ध भइरहन्थ्यो । गोरखापत्र छाडेपछि उहाँसँगको सम्पर्क पातलिँदै गए पनि आफुहरु बिच आयुर्वेद उन्नयनका चर्चाहरु भइरहन्थ्यो ।
उनको निधनले आफु एउटा मित्र र राष्ट्रले एउटा सुयोग्य कुशल आयुर्वेद चिकित्सक गुमाएको भनी शोक व्यक्त गरेका छन् ।