काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एकता सन्देश सभामा व्यापक सहभागिताका लागि पार्टी मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ।
सभाको तयारी, व्यवस्थापन तथा समन्वयका विषयमा छलफल गर्न पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बैठक सम्पन्न भएको हो। बैठकले सभालाई सफल बनाउन मातहतका कमिटीहरूबीच आपसी समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
रासस श्राेतका अनुसार बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति तथा उपत्यका विशेष प्रदेश समितिको संयुक्त आयोजनामा हुने सभामा मञ्च व्यवस्थापन, अतिथिहरूको स्वागत, सुरक्षा व्यवस्था तथा स्वयंसेवक परिचालनका लागि जिम्मेवारी तोकिएको छ। सभामा अनुशासन, सुरक्षासहितको सहभागिता सुनिश्चित गर्न स्वयंसेवक परिचालन गरिने जनाइएको छ।
सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमका क्रममा उपस्थित सञ्चारकर्मीहरूसँग समाचार संकलन तथा सम्प्रेषणका लागि आवश्यक समन्वय समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपालले गर्नेछन्। त्यसैगरी उपत्यका र बागमती प्रदेश समितिले नेताहरूको स्वागत, सत्कार तथा अन्य व्यवस्थापकीय कार्य सम्हाल्नेछन्।
पार्टीका नेता प्रकाश ज्वालाका अनुसार वाम शक्तिबीचको एकतापछि देशका विभिन्न प्रदेश र जिल्लामा सम्पन्न भएका एकता सन्देश सभाले जनस्तरमा सकारात्मक सन्देश र उत्साह पैदा गरेको छ। भृकुटीमण्डपमा आयोजना हुने सभामा सोही उत्साहलाई निरन्तरता दिँदै देशको समसामयिक राजनीतिक परिस्थितिबारे शीर्ष नेताहरूले सहभागीहरूलाई जानकारी गराउने कार्यक्रम तय गरिएको छ।